बैसको पहिलो प्रणय प्रस्ताव लाइ रीताले अस्विकार गर्न सकिन !त्यो दिन दिदीको घरमा आए पछि मन मा यहि कुरा खेलेर निन्द्रा नपरेको त्यो रातको पछिल्लो प्रहरमा, अन्तिम निर्णय लिनु भन्दा अगाडी रीताको अन्तस्करणले अर्को एउटा सुशुप्त यथार्थ लाइ पनि स्वीकार गर्यो !त्यो के भने किरण प्रतिको उसको लगाव त उसले त्यो स्कूलमा पढ्न थाल्दा देखिनै सुरु भएको हो !पहिले त्यसले द्वन्दको आवरण ओढ्यो !पछि क्लास मा फस्ट भएर किरणको घमण्ड चुर भैसकेपछि त्यसले सहानुभूतिको छाता मुनि ठाउँ खोज्यो !त्यती बुझिसकेपछि उसलाई मनको बोझ हलुका भए जस्तो लाग्यो !दिउसोको बेचैनी र डर भाग्यो !निन्द्राले शरण माग्यो !त्यसपछिका कुनै रातका सपना र दिनका पलहरु रीतालाई किरण बिना पूर्ण लागेन ! कम्बैंड स्टडी गर्ने निहुमा उनीहरु सधै संगै हुन्थे, !तर घरमा भनेर आएको ठाउँ र व्यक्तिसंग होइन,एक अर्का संग,एकान्त र अरुले पत्ता लगाउन नसक्ने ठाउंहरुको पर्दा पछाडी !कुनै पर्दा प्रयोग हुन बाकि रहेनन!नारीको शारीरीक ,मानसिक लाजको सीमा छुट्टयाउने पर्दा बाहेक ! एस एल सी जांच हुँदा सम्म हुर्हुर्ती आगलागी भएको घरमा लोटाले पानी हालेर निभाउन खोजे जस्तै आफ्नो प्रेम गाथालाई उनीहरुले जती लुकाउन खोजे पनि त्यो लुकेन!झन झन फैलिदैगयो!दुबैको घरमा प्रसस्त असमझदारी र एक अर्का प्रति आरोप प्रत्यारोप को सृंखलानै चल्यो !जसले गर्दा रीताले एस एल सी जांच सकिएपछि कटारी फर्किन बाध्य हुनुपर्यो !जाँचको सेन्टर बेल्टार मै न परेको भए उसले धेरै अगाडी फर्किसक्नु पर्थ्यो !घर फर्किसकेपछि आमा बाबुको कच कच ,समाजको संकालु हेराइ र आफ्नो प्रिय ब्यक्तिसंगको बिछोडको आगोले उसलाई मर्नु न बच्नु बनायो !रुनु न हास्नु बनायो ! मोबाइलमा हुने लामा लामा कुरामा व्यक्त गरिएका किरणका आश्वासनहरुले उसलाई गर्मी महिनामा साँझको जुनले प्रदान गर्ने शीतलता जस्तै शान्ति त दिन्थ्यो !तर हरेक बिहान सिरानी आफ्नो नियती र भबिस्यको दुस्चिन्ताको आँसुले भिजेको हुन्थ्यो ! तेरो महिनाबारी को टुंगो पनि तलाई छैन कि क्या हो ?आमा एक्कासी अमिलो मुख लगाएर झर्किदै कोठा भित्र छिर्नु भयो ! रीतालाई झल्यास्स याद आयो ! एस एल सी जाँच भन्दा बीस दिन अघि भएको महिनाबारी त्यसपछि भएको छैन ! मनको बेचैनीले यतातीर ध्यान दिन पाएकै थिएन!ओहो हो … त ………..के भाको होला ?किरण संग प्रेमको मानसिक मात्र होइन भौतिक उपहार पनि साटासाट भएका क्षणहरु सिनेमाका दृश्य जस्तै उसको मानसपटलमा नाच्न थाले !अनि उ नराम्रोसंग झस्की ! आमालाई के भन्ने अब ? …..अँ अँ …..किन हुदैन टुंगो ?भन्न पायो भनेर जे पनि भन्ने ?यता आउने बेलामा भर्खर चोखियेकी !आमा संग आँखा जुध्ला कि भन्ने डरले झ्याल तिर हेर्दै साखुल्ले भै ! त्यसो भए ठिकै छ !तर यस्तो कुरामा राम्ररी ध्यान दिनू पर्छ !आजकाल अनेक अनेक रोग भन्छन !समयमै थाहा भए उपचार गर्न मिल्छ नि ?आमाको बोलीमा छोरी प्रति बढी शंका गरेर छिटो प्रतिक्रिया देखाएकोमा पश्चाताप मिस्रित ढुक्क स्पष्ट सुनियो !