जोगीको ………………………………….७

बर्ष पनि बित्यो ……….फाइनल जांच पनि आयो,गयो ,रिज़ल्ट पनि भयो ! कतै केहि फरक परेन!दुइटा कुरा बाहेक ….आठ क्लासको सट्टा रीता हरुको क्लास को नाउ अब नौ क्लास भयो !अनि त्यसमा फस्ट ब्वाई चेन्ज भयो !त्यसको ठाउ फस्ट गर्ल ले लिई …..रीताले ! दिन बित्दै जादा र नौ क्लासको पढाई अगाडी बढ्दै जाँदा रीतालाई पुरानो फस्ट ब्वाई र अहिलेको सेकेन्ड ब्वाई किरण मा आएको  परिवर्तनको पनि आभास हुन थाल्यो ! चटपटे र घमण्डी स्वभावमा आएको परिवर्तन ! यो परिवर्तनमा झट्ट बिस्वास गर्न गारो भएपनि उ अर्कै मान्छे जस्तो भएको थियो !  ! कता कता टोलाए जस्तो ,कतै हराए जस्तो !आमाको न्यास्रोले ग्रस्त अबोध बच्चा जस्तो टीठ लाग्दो !पहिलेको अकड़ कता गयो ?खुरुक्क स्कूल आउँछ ,जान्छ!पुराना बादर जस्ता केटाहरुको ग्रुप अब नेता हराएको समूह भए जस्तो भएको छ   !क्लास आउदै गर्दा बाटामा एक दिन रीताको उससंग जम्का भेट भयो !रीताको मुखबाट पहिले निस्कियो —के छ किरण ,संचैछ ?किरणले हासेर छोटो जवाफ दियो… ठिकै छ !त्यतिखेर पो रीता ले याद गरी ,किरणको  रंग तुलनात्मक रुपमा कालो कालो भएपनि अगाडिका दांत टम्म मिलेका रहेछन ,अनारदाना  जस्ता, त्यसले एक किसिमको आकर्षक हिस्सी ल्याएको रहेछ उसको अनुहारमा !……………..चालै नपाइ नौ क्लास बित्यो!फेरी पनि रीतानै क्लास फस्ट भै ! …..दस क्लास पनि सुरु भएर पढाई सकियो! चौध बर्षको उमेरमा बेल्टार आएकी रीता सोह्र बर्षकी भै !अब त उसलाई सानै देखि आफु जन्मे ,हुर्केको ठाउँ नै बेल्टार हो की जस्तो लाग्न थाली सक्यो! उसको गोरो ,छरितो व्यक्तित्वमा जवानीको लाली थपिदै आयो !बैसको प्रभाव शरीर ,मन र ब्यबहार सबैतिर पर्दै गएको उसलाई पत्तै भएन !यस  यल सी अघि हुने टेस्टको जाँच सकिएको दिन जाँच पछि चौरमा सुन्तला खादै वरी परी बसेका आफ्ना साथी संग एस एल सी को सेन्टर कहाँ पर्ने हो ?त्यसपछि  समयले कसलाई कहाँ पुर्याउने हो  भन्ने जस्ता कुरा हरु गरेपछि उ एक्लै घर फर्किदै थिई !बीच बाटो तीर पुगे पछि,पछाडी बाट एक्कासी यौटा आवाज आयो …..रीता !झस्किएर रीताले फर्किएर हेरी ….. किरण रहेछ !स्वा…स्वा ..गर्दै दौडिएर आइ रहेको !किन ?केभो ?झस्किएकि रीताका प्रस्न हरु मन बाट उठेर घाटी बाट निस्किन नपाउदै किरणले एक्कासि  उसको दायाँ हात मा कागजको यौटा चिट राख्यो अनि रीताको हातको मुठी पनि उसैले बाधी दियो !त्यसपछि उ त्यहाँ बाट एक शब्द नबोली फरक्क फर्कियो ! अनि बेतौड दौडियो जता बाट आएको उतै तीर !सबैकुरा यति छिट छिटो भयो कि रीता लाइ के के भयो भनेर बुझ्नै एक छिन समय लाग्यो !बुझे पछी बिस्तारै उसले मुठी खोलेर हेरी !त्यसपछि वरीपरी  आँखा डुलाई !दिउसोको रापिलो घामले होला !कोही घर बाहीर निस्केका थिएनन ! सबै सुनसान देखेपछि घर सम्म जाने प्रतिक्षा पनि उसले गर्न सकिन !हातमा रहेको खुम्चिएको कागजको टुक्रो हतार हतार मिलाएर हेरी !केहि लेखिएको  देखेर पढ्न मात्र के थालेकी थिई…..उसको मुटुको  धड्कन तेज भो .  सास बढ्न खोज्यो !खुट्टा थरथर गरेर काम्न थाले !त्यसै लाली चढेको ,झन् घामले रातो पारेको  मुहार अझै रातो भयो !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s