यस्तै के के कुरा मनमा खेलाउदा खेलाउदै आखा झपक्क लागेर निदाएछु !भोलिपल्ट अलि ढिलो उठें त्यो पनि ममी ले उठाएपछि ! – तँ अझै सुती रहन्छेस ?केटा पट्टिबाट फोन आइसक्यो !जतिसक्दो छिटो बिहाको लगन जुराए हुन्छ ,हामीलाई केटि चित्त बुझ्यो भनेर !हाम्री छोरी चित्त नबुझे उनीहरुकै अभाग हुन्थ्यो !ठिकै छ ,पारखीले चिन्छ हीराको जात !ममीको बोलीमा खुसी र आत्मविश्वास दुबैको मिलिजुली भाव मिसिएको बुझ्न सकिन्थ्यो !
त्यसपछि ,कुरा छिन्ने देखि लिएर बिहाका सबै प्रक्रियाहरु सामान्य रुपमै भए !बिचमा कुनै असाधारण कुरो भएन! कुरा छिनेको दिन आफैंले र त्यसपछि पनि एक दुइ पटक उसले मलाइ मोबाइलमै फोन गरेर ,बिहा अघि देखिनै घनिष्टता बढाउन सिनेमा हेर्न जाने ,नगरकोट घुम्न जाने जस्ता प्रस्ताव नराखेको होइन तर किन हो कुन्नि मैले त्यसमा त्यति चासो राखिन !पहिलो चोटी भेटेको १५ दिनमा लगन जुरेको छ !परिपक्व दुलाहा दुलहीले के भर्खर १८ -२० बर्षका केटा केटी जस्तो उत्ताउलोपन देखाउनु !जे जे हेर्नु जहाँ जहाँ घुम्नु छ ,बिहा पछिनै गरौला ! बिबाह जस्तो जीवनको महत्वपूर्ण घटना अघि त्यसको पर्खाइको मजा पनि लिउं न भनेर मैले उसलाई हासेर ठट्टा गर्दै टारी दिएँ !त्यसो भने पछी मनमनै उसको बेचैनी सम्झेर मलाइ एक किसिमको आनन्द पनि लाग्यो ,अर्को तीर टीठ पनि लाग्यो !
दिउसोको लगन भए पनि बिहाको सबै औपचारीक बिधि सक्दा र माइत पट्टी बाट बिदा भैसकेर नया घर आइसके पछी पनि भित्र्याउने ,सासु संग माना पाथी भर्ने चुल्ठो जोड्ने आदि बिधि बिधान गर्दा म शारिरीक र मानसिक दुवै किसिमबाट थाकेर चुर भै सकेकी थिएँ !आफ्नो जन्मजात नाता र घरलाई टाढाको पारेर आएको अनुभुतीको न्यास्रोपन मैले पहिले अड्कल काटेको भन्दा छुट्टै खालको र मनमा एक किसिमको रित्तोपन ल्याउने खालको हुदो रहेछ ! मेरो मानसिक थकाइमा त्यो अनुभूतिको योगदान सबै भन्दा बढी रह्यो !खाना खान पनि मन भएन ! तर पहिलो दिन नै नखाइदिदा यता घर पटिकाको मनमा प्रतिकूल प्रभाव पर्ला ,उनीहरुको खुसियालीपूर्ण रमझम को वातावरण खल्लो होला भनेर जुठो मुख लगाएर उठें !बेहुलालाई उसका साथीहरुले छोडेका थिएनन !मद्यपान र नाचगाना चलिनै रहेको थियो !बेला बेलामा भाउजुलाई पनि बोला नाच्न , कस्तो जोइटिंगरे पो रहेछ यो त भनेको आवाज सुनिन्थ्यो !कहिँ मलाइ साच्चै लिन कोइ आउने हो कि भन्ने डर लागि रह्यो !तर धन्न लिन चाही कोइ आएन !ठुली चाहिं नन्दका छोरा छोरी पनि अलि ठुला भैसकेका !निकै ब्यबहारिक पनि रहेछ उनको सोचाइ !—भाउजुलाई हल्का टाउको दुखे जस्तो भएछ !एक छिन आराम गर्न पाए ठिक हुन्थ्यो जस्तो छ ,म वहाँलाई लिएर कोठामा आराम गराउदै गर्छु !बिधि बिधान केहि बाकी भए म ल्याउछु भनी जिम्मा लिएरै कोठामा ल्याइन र भाउजु खुरुक्क आराम गर्नु ,जरूरी पर्यो भने म उठाउन आउला ,ढुक्क भएर एक निन्द्रा सुते पनि हुन्छ भनेर ढाडस दिएर गईन !मलाइ के खोज्छस काना आँखो भने जस्तो भयो !कोठाको भब्य सजावट र सुहाग रातको तयारीका बिभिन्न पक्ष पट्टि ध्यान दिने इच्छा र शक्ति दुवै क्षीण भएकोले पलंगमा अडेस लागेर भुसुक्क निदाएछु !