स्त्री पुरुषको सम्बन्धमा स्वाभाविक अन्तरविरोध हुन्छन !उनीहरुको जात नै फरक हो !त्यसैले अन्तरविरोध कसैले उनीहरुलाई हस्तान्तरण गर्नु पर्दैन ,सृष्टिको नियम भित्रै पर्छ !तर त्यो अन्तरविरोध भित्रै समन्वय खोज्ने अर्थात त्यसको ब्यबस्थापन गर्ने काम पनि त्यसै सिक्काको अर्को पाटो हो ! त्यो पनि सृष्टिको नियम भित्रै पर्छ !यदि त्यसो नहुदो हो त सृष्टि कहिले धराशायी भैसक्थ्यो ! यो समन्वय को संयत्र बनाएर लागू गर्नुमा सृष्टिको पनि आफ्नै स्वार्थ छ ! यौटै डिजाइनका उत्रै र उस्तै घरहरु बनाएर दिएको केहि वर्ष पछि तिनीहरुलाई बनाउनेले हेर्न आयो भने जसरी दुबैको अवस्था त्यसमा बस्नेहरुको आनी बानी र स्वभाव अनुसार फरक हुन्छ,त्यसरीनै एकै किसिमका मानव सम्बन्धका अन्तर्निहित संरचनाहरु यौटै भए पनि ब्यबस्थापनको फरकले ती सम्बन्धहरुको अवस्था र निरन्तरतामा तात्विक अन्तर ल्याउँछ !जुन सम्बन्धको संरंक्षण र सम्बर्धनमा सम्बन्धित सबै पक्षको चासो र चाहना बराबरी हुन्छ त्यसको तुलनामा बराबरी चासो र चाहना नभएका सम्बन्ध हरुको अवस्था र निरन्तरता प्रतिकूल किसिमबाट प्रभावित हुन्छ ! स्वार्थलाई जन्मदै साथ लिएर आएको हुनाले आफ्नो हितको रक्षा र सन्तुष्टी मानिसको सर्बाधिक चासोको बिषय सृष्टिको शुरु देखिनै थियो र अन्तसम्म रहनेछ ! सबै सफल सम्बन्धहरुलाइ केहि अलिखित बुँदा हरुले निर्देशित गरी रहेका हुन्छन जसमा सर्बाधिक महत्वपूर्ण बूँदा एक अर्काको स्वार्थको सम्मान र सुरक्षाको ग्यारेन्टी हो !यस अर्थमा सबै सम्बन्धहरु अलिखित करार हुन र एक्लै आफ्नो हीत रक्षा हुने अवस्था नरहेको बेला त्यो उद्देस्य प्राप्तिका लागि उपयुक्त अर्को पक्षसंग ती करार क्रियाशील रहन्छन !जति स्वार्थ रक्षाको पक्ष त्यो व्यक्तिसंग असान्दर्भिक हुदै जान्छ त्यति त्यो करार पालनाको मानवीय चासो पनि घट्दै जान्छ ,अनि जो संग त्यो बढी सान्दर्भिक हुदै जान्छ ,चासो पनि त्यतै सर्दै जान्छ !समाज र कानून जस्ता कृत्रिम बन्धनहरुको अस्तित्व मानिसले आफुलाई चिनेर ,बढी बिचलनतर्फ उन्मुख हुनबाट रोक्न आफैले आफुलाई बाध्न खोज्ने चेस्टा हुन ! तर तिनमा पनि मानिसको आधारभूत स्वभावलाई उपयुक्त स्थान दियिएन भने भित्रको मान्छेले बिद्रोह गर्न सक्छ ! त्यसैले मान्छेले एक भन्दा बढी सम्बन्धका करार हरु क्रियाशील रहेको बेला सबैको पालनामा उत्तिकै ध्यान दिन उसको जन्मजात स्वभाव बाधक हुन्छ ! तर सबैको मल जलमा आफ्नो प्राथमिकता ब्यबस्थापन गर्न सक्यो भने उसले सम्बन्धहरुको सफल ब्यबस्थापन गरेको ठहरिन्छ ! जति मान्छेले यसको प्राथमिकता सुची सहि किसिमबाट कायम राख्न सक्यो ,त्यति आफु सुखी र सन्तुष्ट बन्ने उसको अभिस्ट पुरा गर्न पनि सजिलो हुदै जान्छ ! त्यसको ठिक उल्टो एकोहोरो स्वार्थको आधारमा प्राथमिकताको ब्यबस्थापन वा असन्तुलित ब्यबस्थापनले दीर्घ कालमा गएर उसको आफ्नै स्वार्थको लागि अहीतकारी परिणाम ल्याउछ ! दाम्पत्य लाइ उदाहरण सम्बन्धको रूपमा लिएर अध्ययन गर्यो भने स्त्री वा पुरुषलाई आफ्नो प्राथमिकता र तिनको समुचित ब्यबस्थापनमा समस्या आउन सक्ने तीनवटा अति महत्वपूर्ण घुम्तीहरु छन ! —पहिलो घुम्ती दाम्पत्य जीवनको सुरुवात पछि लगत्तै आउँछ !त्यो घुम्ती हो – एकातिर आफु जन्मे हुर्केको परिवार आफ्ना जन्मजात नाता, तिन प्रतिको आफ्नो स्वाभाविक लगाव र अर्कोतिर आफ्नो नया घरपरिवार ,त्यसका नाता सम्बन्ध र तिनले दिने जिम्मेवारीहरुमा प्राथमिकताको उपयुक्त ब्यबस्थापनको घुम्ती !दोस्रो घुम्ती सन्तानको जन्म पछि आउछ !एकातिर सन्तानको जन्म पछि सन्तानलाई हुर्काउन सृष्टिले दिएको महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने र अर्कोतिर दाम्पत्यको महत्वपूर्ण बन्धन लाइ अटूट रूपमा कायम राख्ने मात्र होइन त्यसलाई स्वस्थ पनि राख्नु पर्ने आबस्यकता बीच उपयुक्त तालमेल र ब्यबस्थापनको घुम्ती ! तेस्रो घुम्ती आफ्ना सन्तानको दाम्पत्य जीवन सुरु भए पछि आउँछ ! एकातिर आफ्ना सन्तान को पारिवारीक जीवन सुरु भएपछि उनीहरुको त्यो नया अवस्थाले उनीहरुमा ल्याउने परिवर्तन र अर्कोतिर त्यसमा पुरानै सम्बन्धका प्राथमिकताको निरन्तरता कायम राख्ने आफ्नो बुझपचाई बीच को द्वन्द ब्यबस्थापन को घुम्ती !ई तिन घुम्तीको सफल ब्यबस्थापन गर्न सक्ने व्यक्तिलाइ मात्रै जीवनको द्वन्द ब्यबस्थापनमा पारङ्गत मान्नु पर्छ ! कतिपय मनोबैज्ञानिक र दार्शनिकहरु सम्बन्धको स्वास्थ्य कायम राख्नमा स्वाभाविक मानवीय स्वार्थ बाहेक निस्वार्थ उत्प्रेरणाको भावनात्मक पक्ष पनि अस्तित्वमा रहेको बताउछन ! उनीहरुको तर्कमा यहि सृष्टिको रोमान्स हो र मान्छेका तमाम स्वार्थका बाबजूद यहि निस्वार्थ उत्प्रेरणा नै सृष्टिलाई अहिले सम्म बचाएर राख्ने प्राण तत्व हो ! खासगरी व्यक्तिको शारिरीक स्थिति कम्जोर भएको अवस्थामा प्रकृतिको क्षतिपूर्तिको सिद्धान्त अनुरुप भावनात्मक पक्ष बढी स्पष्ट भएर आउँछ !त्यसबेला स्वार्थको प्रस्तुति भौतिक भन्दा मानसिक संवेगहरुको रूपमा बढी हुन्छ र त्यसको लेन देनको मुद्रा पनि भावनात्मक सन्तुष्टिनै हुन्छ !यसरी भौतिक भन्दा भावनात्मक संवेगहरु प्रधान हुनेमा नारी,बूढाबूढी र केटाकेटीहरु प्रमुख हुन ! त्यो बाहेक रोगी र सिर्जनशील ब्यक्तीहरु जस्तो लेखक ,कलाकार ,र इस्वरको आराधनामा लीन भएका हरुको स्वार्थ पनि भावनात्मक भाषामैं बोल्न मन मन पराउछ ! त्यसैले त्यो उत्प्रेरणा स्वार्थ रहित छैन ,केवल प्रस्तुती मात्र फरक हो !यस्तो अवस्थामा पनि अरुको सन्तुष्टि होइन आफ्नै सन्तुष्टि मानिसको मुख्य उद्देश्य हुन्छ !अरुको लागि भनि गरिएका कर्महरु पनि आफ्नै सन्तुष्टि र बडप्पनको प्रदर्शनको अभिष्ट बाट प्रेरित हुन्छन ! सृष्टिको रोमान्स को निरन्तरता कुनै पनि रुपमा प्रस्तुत हुने अलग अलग स्वार्थको संयोजनमैं लुकेको हुन्छ र सृष्टिको प्राण तत्व पनि यहि ब्यबस्थापन भित्र लुकेको रोमान्स नै हो !