अंग्रेजीमा एउटा भनाइ छ —-एभ्री टिन ह्याज़ अ क्रश ! अर्थात विपरीत लिंगी मान्छे प्रति बिशेष किसिमको भावनात्मक लगावको प्रथम अनुभब मान्छेले १९ बर्षको उमेर अघिनै अवस्य गरिसक्छ ! क्रश भन्ने अंग्रेजी शब्द प्रेमको सट्टा प्रयोग गर्न मिल्दैन ! बच्चाले बजारमा पस्ने बित्तिकै पहिलो मन परेको खेलौना देख्ना साथ त्यसलाई किन्न गरेको बाल हठको जस्तै अवस्था हो यो ! मलाइ थाहा भएसम्म क्रश शब्दको ठ्याक्कै मिल्ने पर्यायबाची शब्द नेपाली भाषामा छैन !यो प्रेमको पर्यायबाची शब्द पनि होइन ! तै पनि कतीले नबुझेर पहिलो क्रश को अर्थ पहिलो प्रेमको रुपमा लगाउँछन्! तर प्रेम पहिलो ,दोस्रो या तेस्रो हुदै हुदैन ! वास्तविक प्रेम त कि हुदै हुदैन कि मानव जीवनमा एकै पटक हुन्छ !तर क्रश हुदै हराउदै गर्छ, आज यो प्रति भोली अर्को प्रति, जसरी बच्चाको खेलौना किन्ने प्राथमिकता अर्को राम्रो खेलौना देख्ने बित्तिकै पुरानो बाट नया तिर जान्छ ! क्रश भनेको एउटा त्यस्तो मानसिक स्थिति हो ,जसलाई अनुभव गर्नेलाइ जन्म जन्मान्तर सम्मको माया बसेको अनुभूति पनि हुन सक्छ ,तर यथार्थमा कुरा त्यस्तो हुदैन ! क्रश एउटा आंधी हो जो जसरी आउँछ त्यसरीनै जान्छ ! पटक पटक फेरी पनि आइ रहन सक्छ !किशोर अवस्था अर्थात १९ बर्षको उमेर अघिको समयमा मानव शरीर र मनमा यौन सम्बन्धि शारिरीक र भावनात्मक दुवै बिकाश अत्यन्त तिब्र गतिमा हुन्छ !यतिखेर किशोर किशोरीको भावनात्मक संवेगलाइ अनुभूत गर्ने क्षमता अत्यन्त तिखो हुन्छ ,साथै विपरीत लिंगीको बारेमा जतिसक्दो बढी जान्ने र संगत गर्ने रहर पनि अत्यन्त प्रखर हुन्छ !
प्यासी मान्छेमा पानीको पहिलो स्रोत भेटना साथ सफा फोहर नहेरी त्यसैलाई पिउने इच्छा प्रबल भए जस्तै पहिलो क्रश किशोर अवस्थामा आफुलाई सहज पर्ने बित्तिकै जो संग पनि हुन सक्छ !आफु वरीपरीका साथि संगिनी हरुका अनुभवका कुरा र उनीहरु बाट पाइने प्रोत्साहनले पनि कतिलाई नजानिँदो पाराले पहिलो क्रश को अपरिहार्यता अनुभव गराएर त्यस तर्फ धकेल्छ ! सामान्यतया मान्छेको विपरीत लिंगी प्रतिको झुकाव आफ्नै उमेर मिल्दो संग बढी हुनु स्वाभाविक हो ! सामान्य अवस्थामा जे भएपनि किशोर अवस्थामा आफुसंग मिठो बोल्ने ,राम्रो ब्यबहार गरिदिने वा सहानुभूती देखाउने कुनै व्यक्तिसंग पनि लगाव हुन सक्छ !अर्कोतिर आफुसंग झगडा गर्ने ,प्रतिस्पर्धा गर्ने वा घृणा को भाव देखाउने व्यक्तिसंग पनि अन्तर्मनमा आफ्नो बेग्लै साइनो गासिएको अनुभव हुन सक्छ ! सारांशमा भन्ने हो भने जुन विपरीत लिंगीले आफ्नो अस्तित्वलाई सकारात्मक वा नकारात्मक मान्यता दिन्छ या आफु प्रति चासो देखाउंछ, त्यो संग पहिलो क्रश हुने सम्भावना बढी हुन्छ !
जुन ठुलो मान्छेले आफुलाई माया गाली वा आफुसंग खेल्ने चासो देखाउछ बच्चा त्यसै संग झ्याम्मिए जस्तै कुरा हो यो !कति किशोर किशोरी हरुको आफुलाई पढाउने जुन शिक्षक ,शिक्षिका ले आफुलाई अलि बढी वास्ता गरे जस्तो लाग्छ त्यसै संग क्रश भएका अनगिन्ती उदाहरण छन !कतिको बाल्यकाल देखि सधै झगडा परिरहने छिमेकी वा क्लासमेट संग किशोर अवस्थामा प्रवेश गर्ने बित्तिकै क्रश परेका उदाहरण छन !सानै देखि उसको वा उनको व्यक्तित्वका प्रशंशकहरु किशोर अवस्थामा पुगे पछि आफ्ना आमा बाबुको उमेरका हरुसंग क्रशमा परेका हुन्छन ! अनि बिभिन्न विधामा नाम कमाएका सेलेब्रीटि हरु संग किशोर किशोरीको क्रश परेको पनि पाइन्छ ! त्यो बाहेक आफ्नै उमेर बर्गका हरुसंग पनि जन्म जन्मंतार को साथदिने बाचा गर्ने मात्र होइन संरक्षक वा परिवारको स्विकृती नपाउदाको अपमान खप्न नसकेर आत्महत्या सम्म गर्ने कोशिश गरेका अनि भागेर जीवन भरिको सम्बन्ध गाँसेका पनि थुप्रो उदाहरण छन !क्रश धेरै जसो एकोहोरो लगाव बाट शुरु हुन्छ र पछि सहज अवस्था पैदा भएर आपसी संवादको बिकाश भएपछि दोहोरो हुन सक्छ !सम उमेरका किशोर किशोरी बिचको क्रश कहिले कहीं दुइ तर्फी प्रेममा परिणत भएका पनि उदाहरण छन भने कहिलेकाहीं एक तर्फी रूपमा मात्र परिपक्व भएको पनि पाइन्छ !जे भए पनि पहिलो क्रश पछि सम्म र कहिले कहीं त जीवन भर मिठो याद भएर रही रहन्छ !यस पछि हुने प्रेम लगायतका सबै सम्बन्ध हरु दुवै पक्षको सजिलो र सहजता संग जति निर्भर हुन्छन पहिलो क्रश त्यस्तो नभएर अप्ठ्यारोमा फलेको फर्सी जस्तो आफैं भै दिन्छ !यसमा हिसाब किताब गर्ने शक्ति कम हुन्छ !यो यौन ले जीवनमा प्रभावशाली रूपमा ठाउँ बनाएको संकेत दिने प्रकृतिको प्रिय माध्यम हो ! जीवन यात्रामा रोमान्स को अपरिहार्य राजकीय भूमिकाको उद्घोष गर्ने सृष्टिको माध्यम पनि यहि हो ! क्रशले अत्यन्त गहिरो प्रेम को शालीनता भन्दा किशोर अवस्थाको भावनात्मक ज्वारले ल्याउने उत्ताउलोपन र प्रदर्शनकारी स्वभाव बढी बोकेको हुन्छ !भाइरसले ल्याउने ज्वरो जस्तो हुन्छ क्रश को स्वभाव !जति छिटो चढ्छ ,त्यति छिटो उत्रिन्छ पनि !एउटा संग भएर क्रश फेरी नदोहोरिएला भन्ने हुदैन ! बुढेशकाल सम्म क्रश को ठाउँ मान्छेको मनमा सुरक्षित हुन्छ !क्रशको लागि अर्को मलिलो उमेर अधबैंसे उमेर हो !त्यो बेलाको आर्थिक र मानशिक सुरक्षाको मलिलो माटोमा क्रश सप्रेर उम्रिन्छ र कहिले कहीं त फल्छ पनि !सब भन्दा ठुलो समस्या त तब पैदा हुन्छ जव कुनै सम्बन्ध दोहोरो देखिए पनि यथार्थमा दोहोरो हुदैन ! त्यस्तो सम्बन्धमा एउटाको लगाव क्रश को स्वरूपमा नया जोगीले खरानी बढी घसेको जस्तो अवस्थामा हुन्छ ,अर्कोले साच्चै प्रेमको मन्दिरमा पूजा गरी रहेको हुन्छ !