यौन एउटा बिश्वब्यापी यथार्थ हुदा हुदै पनि यसलाई अपनाउने ,प्रयोग गर्ने र यसको सीमा तोक्ने अधिकार प्रत्येक व्यक्ति र जोडीले आफूसंगै सुरक्षित राखेको हुन्छ !बिभिन्न व्यक्ति र जोडीको सकारात्मक अथवा नकारात्मक अनुभवको समष्टिगत प्रतिनिधित्व उनीहरुको समाजको सामूहिक मर्यादामा प्रतिबिम्बित हुन्छ !यसरीनै बिभिन्न समाजका समष्टिगत अनुभवको प्रतिबिम्ब त्यो समाजको मातृ सभ्यताको निती निर्माणमा देख्न पाइन्छ! बिशेष क्षेत्रगत ,जातिगत वा धर्मगत सभ्यताले त्यसका अनुयायीहरुका सबै सार्बजनिक ब्यबहारको मर्यादा, आफ्नो मूल मान्यता र समय संगै बिकसित हुदै जाने अग्रगामी परिवर्तनलाई समेत समावेश गरेर निर्धारण गरे जस्तै यौन ब्यबहारहरुको न्युनतम र अधिकतम सीमा अनि तिनका पूर्वाधारहरु पनि निर्धारित हुन्छन !यस्ता मर्यादाहरु मध्ये धेरै कमले राज्यले बनाउने कानूनमा पनि प्रतिनिधित्व पाएका हुन्छन तर अधिकांश ब्यबहारहरुले सभ्यताका आधारभूत बिशेषताहरुको सुचिमा ठाउँ पाउँछन ! यौन संग सम्बन्धित सार्बजनिक ब्यबहारहरुको मर्यादा तोक्ने र त्यसको अनुगमन गर्ने कार्य त सभ्यता या समाजले सार्बजनिक संयत्र को माध्यम बाट गर्छ तर व्यक्ति वा जोडीहरुको यौन व्यवहारलाई कुनै पनि सीमा तोक्न या अनुगमन गर्न भने त्यति सजिलो हुदैन !कारण कुनै पनि सभ्यता मा यौन को स्थान पूर्ण सार्बजनिक छैन !सापेक्षिक रूपमा केहि अन्तर भने अवस्य छ ! पूर्वीय समाजको बिकाशको क्रम पाश्चात्य समाज भन्दा धेरै अघि सुरु भएको हो ! यसले आफ्नो उत्कर्षको अवस्था प्राप्त गर्दा सम्म आज चिनिने पश्चिमले आफ्नो छुट्टै सभ्यताको पूर्वाधार पनि स्थापित गरी सकेको थिएन! पश्चिमी सभ्यताको अहिले देखिएको पूर्बी सभ्यता माथिको अनपेक्षित आधिपत्यको लागि पश्चिमको बलियो आर्थिक आधार का साथै बिज्ञान तथा प्रबिधिको द्रुत बिकाश र अत्यधिक प्रयोग जस्ता पूर्वाधार हरुको योगदान बढी छ ! पाश्चात्य सभ्यता मा कुनै कमि कमजोरी नरहेको र बैज्ञानिक परिवर्तन हरुलाई स्वीकार गर्ने कुरामा शत प्रतिसत पश्चिमा हरु उदार भएको दाबि पनि पूर्ण सत्य चाहिं होइन !त्यहाँ पनि उदारता बिरोधि यौटा ठुलै जमात छ !बाहिरबाट हेर्नेले त्यसलाई स्पष्ट नदेख्न सक्छ ! बरु बढी जडसुत्रबादी भएको र समयको गतिलाई नबुझ्ने आरोप लागेको पूर्बी सभ्यताले सबै किसिमका परिवर्तनलाई स्वीकार गर्न आफ्नो ढोका खोल्दै गएको र एक्कासी बढी उदार बन्न खोजेको अवस्था भने अहिलेको समयको यथार्थ हो !प्रत्येक ठुला परिवर्तन लाई आत्मसात गर्न एउटा निश्चित स्तरको मानसिक तैयारी र समयको जरुरत पर्छ ! पूर्बी समाजलाई आफु पछाडी परेको अनुभूतीले हतार गर्न प्रेरित गरेको जस्तो देखिन्छ !जसले गर्दा पश्चिमी समाजमको कुनै एक भागमा आउदै गरेका परिवर्तनहरु उ आफैले स्वीकार गर्नु अघि छानबिन गर्दा गर्दै पूर्बी समाजले त्यसलाई स्वागतसाथ स्थापित गरेको पनि कतिपय अवस्थामा प्रतित हुन्छ !यसले पश्चिमी समाजलाई एउटा अति आत्मविश्वास सहितको उत्कर्षमा पुर्याएको छ !हुन त योरोपमा पूर्बी सभ्यताका समकालीन भन्न मिल्ने ग्रीक ,रोमन सभ्यता हरु पनि स्थापित भएर आफ्नो स्थान नबनाएका होइनन !तर त्यो पूर्बी सभ्यताको उद्गम र उत्कर्ष भन्दा तुलनात्मक रूपमा पछिकै कुरा हो !पूर्वमा आजको मध्यपूर्ब र मध्य तथा सुदूर पूर्ब मानवीय सभ्यताका पूर्वाधारहरुलाई संयोजन र स्थापित गर्ने प्रथम थलो भएको कुरामा पुर्बिया हरुले गर्व गरे हुन्छ !अनि आफ्नो सभ्यता उत्कर्षमा पुगेको बेलाका अवशेष हरुलाई मात्रै खोजेर तिनलाई मलजल गर्यो भने पुर्बिया हरुले अमेरिकी ढाँचाको दर्शन को खडेरी भएको आधुनिक सभ्यताको लगन गाँठो लाई आफ्नो उन्नतिको एक मात्र आधार मानेर घुमी रहनु पनि पर्दैन !