अंग्रेजीमा यौटा शब्द छ -फ्यान्टासी ! यो यौटा अंगेजी शब्द जति बोल्छ, नेपाली भाषामा मैले जाने सम्म,यसको भाव त्यो हदसम्म व्याख्या गर्ने क्षमता भएको यौटै शब्द छैन !कल्पना अथवा सपना जस्ता शब्दहरु यसको नजीक पुग्न खोज्छन तर तिनीहरुको प्रयोग सामान्य रूपमा अरु प्रसंगमा बढी हुने हुँदा तिनको अगाडी अर्को विशेषण लगाउनु जरूरी हुन्छ !त्यसको सट्टा कल्पनाको संसारमा घुम्ने अथवा स्वप्न लोकमा विचरण गर्ने भन्ने जस्ता शब्द संयोजनले फ्यान्टासीलाइ लगभग रूपले ब्याख्या गर्न खोज्छन !मानिसले जब आफ्नो सामान्य वा यथार्थ स्थितीमा कुनै बस्तु वा वातावरण प्राप्त गर्न सक्दैन र त्यो वस्तु वा वातावरण जब काल्पनिक अथवा स्वप्निल संसारमा खोजेर पत्ता लगाउने प्रयाश गर्छ तब उ फ्यान्टासीमा मग्न हुन्छ !आर्थिक रूपमा गरिब मान्छेले अकल्पनीय आर्थिक क्षमता हुँदा भोग गर्न पाइने बिलासिता फ्यान्टासीको माध्यमबाट भोग गरेको अनुभूति गर्न सक्छ !अपांगले सबै अंग स्वस्थ हुँदाको आफ्नो असिमीत क्षमता फ्यान्टासी को माध्यम बाट प्राप्त गर्न सक्छ !केवल मन पूर्ण स्वस्थ हुनु पर्छ !आखिर सबै किसिमका भावनात्मक स्थितीहरुलाई महसूस गर्ने अनि तिनको आनन्द लिने वा दुख भोग्ने मनै त हो !सबै इन्द्रियले मन मार्फत सुख दुख भोग गर्छन !तर मनले कुनै इन्द्रियको साथ लिई वा नलिई एक्लै पनि यस्तो भोग गर्न सक्छ !छिनमै उसले महल बनाउन सक्छ ,अनि छिनमै खण्डहर !मनको यात्रा पनि सहज हुन्छ !कुनै भौतिक साधनको प्रयोग नगरी यो छिनमै देखेका नदेखेका सबै गन्तब्य सम्म पुग्न सक्छ !यसरी यो फ्यान्टासी गरीबको धन हो ,अपांग को अंग हो ,असमर्थ को सामर्थ्य हो, अनि कमजोरको बल हो !
फ्यान्टासी …………………………………………………………..१
यौन मनोविज्ञानमा पनि फ्यान्टासिको अलग्गै महत्व र स्थान छ !किशोर ,किशोरी का बैंसका सपना वा सपनाका राजकुमार राजकुमारी का जुन चर्चा परिचर्चाहरु साहित्यमा पाइन्छ त्यसको आधार यहि हो !यो उमेर हर्मोनको प्रभावले विपरीत लिंगी को बारेमा बढी जान्ने वा निकट हुने प्राकृतिक रहर बोकेर आउने उमेर मात्र होइन भबिस्यको रंगीन फूलबारीमा सबै अर्थ सामाजिक श्रेष्ठता बीच कल्पनाको ईंटले बनेको घरमा सपनाको मान्छेसंग फ्यान्टासीको तेलकासा खेल्ने उमेर पनि हो !
मनमा ब्यबहारीक यथार्थ को बोझ नहुँदा, भबिस्यको पात्रोमा चाड पर्वको मिती तोक्ने स्वतन्त्रता आफैसंग भएको रमाइलो अनुभुतीले मान्छेको मन छिल्लिन्छ !त्यसले जुन चंचलता ल्याउँछ, त्यसले मान्छेलाई आफ्नो यथार्थ र त्यसले उत्पन्न गर्ने विवसताको वास्तविक संसार बाहेक कतै कुनै लोकको भ्रमण गराउन बाँकी राख्दैन ! गरिबलाई प्लेनको सफर गराउने ,कमजोरलाई बलको आभास गराउने ,असमर्थ लाइ सामर्थ्यको ओढ्ने ओढाउने अनि कुरुपलाइ रूपको दम्भ पैदा गराउने फ्यान्टासी को साथ पाएर चंचलताले मान्छेलाई आत्मविश्वास दिए सम्म त ठिकै छ तर धेरै जसो यसले अतिबिश्वासको संघार सम्म पुर्याउछ !