एउटा भनाइ छ -बिबाह भएपछि नारीले आधा नारीत्व सफल भएको ठान्छे ,सन्तानको जन्म पछी उसले पूर्ण नारीत्व सफल भएको महसूस गर्छे !हुन पनि हो,नारीको ममता सन्तान प्राप्तिपछि जब उत्कर्षमा पुग्छ जीवनको सार्थकता घनिभूत भएर उसको मनस्थितिलाई प्रभावित गर्न सफल हुन्छ !यौटी नारीले संसारलाई दिन सक्ने अनमोल सौगात उसको सन्तान हो ! सन्तानलाई जन्म दिएर उसले आफ्नो पति लाइ जति गौरवपूर्ण स्थानमा पुरयाउछे अनि आफ्नो घर परिवारमा उसलाई जुन सम्मानको भागी बनाउछे,त्यति अरु कुनै सम्बन्धमा कसैले कसैको लागि गर्दैन !सृष्टिको रक्षार्थ पनि नारीको यो योगदान अत्यन्तै महत्वपूर्ण हुन्छ !कारण आफ्नो निरन्तरता सृष्टिले प्रत्यक्ष रूपले नारीको कारणबाट पाउँछ !पुरुषको भूमिका यस बिषयमा गौण रूपमा रहन्छ !
आफ्नो यो स्वाभाविक भूमिका लाइ जब नारीले यथार्थमा बोध गर्छे ,उसको हृदय जब ममताको रसले छ्चल्किदो घडा जस्तो भएर रसाउँछ ,तब उसलाई लाग्छ सृष्टी प्रतिको, संसार प्रतिको अनि समाज ,घरपरिवार र पतिप्रतिको उसको कर्तव्य उसले सफलता पूर्वक निर्वाह गरिसकी !अब उसले त्यता पट्टि गर्न केहि बाँकि छैन !
पानी जहिले पनि भिरालो तिर बग्छ भने जस्तै मायाको स्वभाव पनि तलतीर प्रबाहीत हुने हुन्छ !माया सृष्टिको सबभन्दा ठुलो हतियार हो जसको बलमा उसले आफ्नो रक्षा मात्रै गर्दैन ,प्रभुत्व बिस्तार पनि गर्छ ! त्यसैले सन्तानको माया नारीको सबै भन्दा ठुलो हतियार ,सम्पति र कमजोरी पनि हो !यसको अगाडी उसका अरु सबै प्राथमिकता हरु ओझेलमा पर्छन ,अनि यसको रंगको अगाडी जीवनका अन्य सबै रंगहरु फिका हुन्छन !
उसको सम्पूर्ण ध्यान बच्चाको स्याहार सुसार प्रति केन्द्रित हुन पुग्छ !साच्चै भन्ने हो भने यो समय पछिको सबै अवस्था र उमेरमा नारीको प्राथमिकता र माया स्पष्ट रूपमा दुइ चिरा भएर बाडिन्छ र सन्तान यौटा निश्चित हदको स्वाबलम्बी उमेरमा नपुग्दासम्म उसको प्राथमिकता सन्तानको पक्षमा ढल्केको हुन्छ ! जसले गर्दा उसको बाँकि जीवन यी दुइ चिरा बिचको सन्तुलन मिलाउने गोरख धन्दामा यसरी फस्न पुग्छ कि कहिलेकाही उसलाई आफ्नो यो जिम्मेवारीले ठुलै अप्ठ्यारोमा पारेको अनुभव गर्नुपर्ने अवस्था पनि आउँछ !यस अघि परलिंगी पुरुष अर्थात दाम्पत्यमा पतिको मात्र एकाधिकार रहेको उसको माया प्रेममा अब आफ्नो स्थानको लागि आफ्नै सन्तान संग हुने प्रतिस्पर्धाले पुरुषको स्वाभाविक अहंमा समेत धक्का पुग्दा आहत पुरुष न ममताको बिरोधि हुन सक्छ न उसले आफ्नो यसअघिको एकाधिकार को धंगधंगीबाट आफुलाई मुक्त गर्न सक्छ ! एकातीर सन्तान माथि नारीको ममताको स्पष्ट बिरोध गरेर उ आफ्नो स्वार्थको नाङ्गो सत्य स्वरूप पनि प्रदर्शन गर्न सक्दैन भने आर्कोतीर र जीवनलाई रसमय ढंगबाट बाच्ने आफ्नो रोमान्स को सबैभन्दा बलियो आधार स्त्रीको आफूप्रतिको यसअघिको अटूट चासो माथिको एकाधिकारलाइ एक हदसम्म बाँड्न त तैयार हुन्छ तर आफु दोस्रो प्राथमिकता सुचिमा परेको सत्यलाई स्वीकार गर्न सक्दैन !कतिपय पुरुषहरु हाम्रो जस्तो पुरुष प्रधान समाजमा यस्तो विषम स्थितीमा आफ्नो तर्फबाट समस्याको तार्किक निष्कर्ष खोज्न तत्पर हुने बिकल्प समेत नसोची विचलनको बाटो समातेर दाम्पत्य जीवनका बाँकी महत्वपूर्ण समयलाईनै जोखिममा पार्न उद्दत हुन्छन भने केहिले उचित समय पछि सबै ठिक हुने आशा साथ आफ्नो जीवन शैलीमा केहि परिवर्तनसाथ आफ्नो अहम र यथार्थ बीच सम्झौताको मध्य मार्ग अपनाउछन् !