युनिभर्सिटिको अन्तिम परिक्षा सकिएको खुसियालीमा क्यान्टिनमा बसेर साथीहरुसंग चियाको चुस्की लगाउदै गर्दा गौरीका आँखा पटक पटक समीरका आँखा संग जुध्न पुग्थे !समीरको आँखामा टिठलाग्दो खालीपन देख्दा गौरी लाइ जहिले पनि नरमाइलो लाग्थ्यो ! तर आजको कुरा सधै भन्दा अलि फरक थियो !आज गौरीले समीरको आँखामा त्यो खालीपन संगै केही थकान र एउटा दृढ अठोट पनि अनुभव गरेकी थिई ! यस्तो दृढता समीरमा देख्ने चाहना गौरीलाई धेरै अघि देखि थियो ! समीरमा सबै कुरा थियो मिलनसार स्वभाव ,बोलीमा मिठास अनि अरुभन्दा छुट्टै सरल र आकर्षक व्यक्तित्व ! तर उसमा यौटै कुराको अभाव गौरीलाई सधै खड्कीन्थ्यो!आफ्नो आत्मबिस्वासमा आधारीत निर्णय क्षमताको अभाव !त्यो अभावले समीरको व्यक्तित्वलाइ कता कता अपुरो ,अधुरो बनाएको जस्तो गौरीलाई लाग्थ्यो !तर त्यो दिन उसलाई आश्चर्य अनुभव भैरहेको थियो !एक्कासी यति धेरै दृढता समीरमा कहाँबाट आयो ? क्लासका सबै पुरुष साथि हरुमध्ये गौरी लाइ समीर जति अरु कोहि मन परेन! लाइब्रेरीको ढोकामा एक अर्का संग ठोक्किए पछि समीरका आँखासंग गौरीका आँखा पहिलो पटक जुधेका थिए !त्यसपछि गौरीले नचाहदा नचाहदै पनि उसका आँखाहरुले समीरलाई खोज्न कहिल्यै छोडेनन! जति भेटदा पनि फेरी भेट्ने रहर मरेन !युनिभर्सिटी को जांच सकिने अघिल्लो दिन राति समीरलाई पटक्कै निन्द्रा परेन !मनमा नाना थरीका कुराहरु खेली रहे ! आफ्नो जीवनको यौटा अध्याय सिध्धियेर अर्को सुरु हुने बेलामा एक किसिमको खुसियाली हुनु पर्ने मनमा !पहिले कहिले जांच सकिन्छ र तनाव बाट मुक्त हुनु जस्तो लाग्थ्यो !आज जांच कहिल्यै नसिध्धिएर् चली रहे हुन्थ्यो जस्तो लागिरहेछ !उसलाई बेला बेलामा आफ्नो भित्री मनले यो बेचैनिको कारण सुटुक्क भन्न खोजेझै आभास हुन्थ्यो !तर शायद उसको मन यथार्थलाई स्वीकार गर्न हिच्किचाहट अनुभव गर्दै थियो ! उसको आँखा अगाडी यौटै अनुहार बारम्बार नाचिरहेको उसलाई प्रतीत भै रहेको थियो ! उसको मुटुको ढुक ढुकी यौटै नामको तालमा धड्किए जस्तो उसलाई महसूस भैरहेथ्यो ! गौरी …गौरी …गौरी !गौरीका नीला झील जस्ता आँखा भित्र लुकेको आत्मविश्वास अनि जीवनको कठोर यथार्थले झन कठोर बनाएको उसको स्वभाव !समीरलाई गौरीको त्यो मिश्रित व्यक्तित्व दिन रात हर क्षण याद आइ रहन्थ्यो ! उसले कतिपटक धित मर्ने गरी गौरी संग एक्लैमा बसेर बोल्ने ,मनको सबै पोको खोलेर हलुङ्गो हुने निर्णय गरेको थियो ! तर आफ्नो यो निर्णय उसले कहिल्यै कार्यन्वयन गर्न सकेन !कहिलेकाही आफ्नो फितलोपन सम्झेर उ आफैंलाई आफैं संग रिस उठ्थ्यो !उसमा किन आफुले सोचेको कुरा गर्ने दृढता छैन ?गौरी कति आटिली र स्पष्ट छ !आफ्नो क्लासमा मात्र होइन सारा युनिभर्सिटिमा उसको प्रभाव छ ! युनियनमा पनि उ नेत्री छ !पूरा युनिभर्सिटिमा को यस्तो केटा होला जो गौरीको व्यक्तित्वबाट प्रभावित नहोस !उसको बिन्दास स्वभावको प्रसंसक नहोस !अनि किन गौरीले उ जस्तो कम्जोर मनस्थितिको निर्णय क्षमता नभएको केटोलाई भाउ दिनु ? !उ सोच्दा सोच्दै निरास भयो !छाती गह्रौं भएर आयो !घांटी अबरुध्ध भयो !आँखा रसाएर आए !यहि एउटा पिंचे स्वभाव छ उसको सम्पति ! आफ्नो भन्दा अरुकै मायाले बढी छुन्छ उसलाई !जसले जे मांगे पनि नाइँ भन्न सक्दैन !साथीभाई भने पछि हुरुक्क हुन्छ उ !आफुलाई जन्मदिने आमालाई देख्न पाएन उसले ! उ जन्मिदा इन्फेक्सन भएर उसकी आमाको मृत्यु भएको भन्ने उसलाई आफु अलि ठुलो भएपछि मात्र थाहा भयो ! !तर होस्टेलमा बसेर पढ्दाका दिनहरुमा उसको बाबाको उ प्रति माया भन्दा बढी टिठ लाग्दो हेराइ र उसकी ममी भनेर उसले होस सम्हाल्दा देखि चिनेकी महिलाको उ प्रतिको बेरुखो ब्यबहारले उसको बाल्य मस्तिष्क बेला बेलामा तर्सिन्थ्यो अनि उसलाई कतै न कतै केहि न केही नमिलेको अनौठो अनुभव भैरहन्थ्यो !त्यहि स्कूलमा पढ्ने दुइ क्लास जुनियर भाइको आत्म बिस्वासले टल्कने आँखा र आफ्ना उदास आँखाहरुमा देखिने स्पष्ट अन्तरको तात्पर्य उसलाई अलि ठुलो भएर बुझ्ने भए पछि मात्र थाहा भयो ……उ उद्द्योगपति नयन राज जोशीकी मृत जेठी श्रीमती पट्टिको एकमात्र सन्तान रहेछ !अनि उसकी ममी उसकी कान्छी आमा रहिछन र उसका दुइ वटा भाइ र यौटी बहिनीकी आमा पनि उनै रहिछन !समीरले सिरान मुनी राखेको घडी झिकेर हेर्यो !साढे चार बजेछ !अनिदोले आँखा पीरा भैसकेछन!उसले मनमनै यौटा दृढ निश्चय गर्यो अनि कोल्टे फर्क्यो !त्यसपछि कतिखेर निदायो त्यो त थाहा भएन तर बिहान उसको साथि दिपकले घच्घच्याएर उसलाई उठाउदा नौ बजेको रहेछ !