कति क्षण यसरी बिते थाहा भएन !त्यसपछि न समीर बोल्यो न गौरी !धेरै बेर सम्म गौरीको केहि जवाफ नपाउदा समीर अत्ताल्लियो !गौरी उसको कुरा सुनेर उठेर हिंडी भन्ने डरले उसको मुटु चिसो भयो !नत्र यत्रो बेर चुप लागेर के बस्न सक्थी ?अनि उसलाई आफैं माथि विश्वास पनि भएन !फरर त्यत्रो कुरा भनेकोमा !गौरीले शयाद बिश्वास गरिन !मैले कुरा पुर्याएर भन्नपनि जानिन !समीरले तल निहुरेको टाउको बिस्तारै उठायो !गौरी उसको ठ्याक्कै अगाडी जहाँको तहाँ थिई !उसको ठाडो सिर र मुटु छेड्ने आँखा भुइँ तीर फर्केका थिए !टाउको निहुरेको थियो !
समीर ढुक्क भयो !कम से कम गौरी यहीं छ !यत्रो कुरा सुने पछि पनि !रिसाएर पड्केकी पनि छैन !उसलाई अब आँट आयो !म गौरीलाई अझै बुझाउने मौका पाए भने फेरी पनि बुझाउछु !म उसलाई कति चाहन्छु भनेर !मनमनै निस्तब्धताको आडमा उ फुर्कियो !
गौरीले बिस्तारै टाउको उठाई !बिस्तारै आँखा उठाएर उ तिर हेरी !तर अब उसको हेराइमा पहिले जस्तो राप थिएन !बरु पूर्णिमाको चन्द्रमाको जस्तो शीतलता थियो !पहिलेको उसको अकड़मा नारीत्व संग पुरुषत्वको केही तत्व मिसिए जस्तो लाग्थ्यो !अहिले त्यो अकड़ त्यहाँ थिएन!त्यहा एउटी नारी थिई !सम्पूर्ण नारी !उसले आफ्नो हातका बुढी औलाले अरु औलाका लामा लामा नंग कोट्याउदै भनी- समीर तिमीमा आफु प्रति यस्तो बिश्वास म सधै हेर्न चाहन्थे !त्यस अर्थमा आज मेरो लागि सबै भन्दा खुसीको दिन हो !मेरो तिमि प्रतिको सोच तिम्रो म प्रती भन्दा कम छैन !प्रत्येक नारीले अरु जतिसुकै ठुला कुरा गरे पनि कसै संग घर जम गर्ने , उसका बच्चा पाउने ,हुर्काउने फ्यानटासी पनि गर्छे !उसले योग्य ठानेको मान्छेले आफुलाई त्यसको योग्य सम्झिदा उसलाई अकल्पनीय खुसी हुन्छ !मलाइ त्यो खुसि दिएकोमा म तिमि प्रति कृतज्ञ छु !
तर मेरो जीवनमा मेरो आफ्नो खुसी ,आफ्नो इच्छा ,आफ्नो आनन्द भन्दा ठुलो कुरा पनि छ !त्यो कुरा मैले अहिले यहाँ तिमीलाई भनिन भने जीवनभर मलाई पश्चाताप हुनेछ !जति भन्न मिल्छ ,म तिमीलाई भन्छु !मेरो जीवन अत्यन्त कठोर तपस्याबाट गुज्रेर यहाँ सम्म आइपुगेको हो !मान्छेले म मा एक किसिमको बिरसिलोपन पनि छ भन्छन ! तर के गरौँ ,यो मेरो चाहनाले आएको होइन !यो समाजले मलाइ दिएको उपहार हो यो ! मैले त्यसलाई ग्रहण गर्नु परेको छ ! चाहेर ,नचाहेर ! यो समाजका राम्रा तत्व हरुको म माथि गुण पनि छ ! तिरी नसक्नु गुण !त्यसलाई उपेक्षा गरेर म स्वार्थी बन्न चाहन्न!त्यसै कारण मेरो जीवनले अझै एक तपस्या बाट गुज्रिन बाकी छ ! जीवन र मृत्यु बिचको खेलको तपस्या !विवाहको बारेमा मेरो यौटै सोच छ बिवाह योग्य समय आएछ भने कि म तिम्रै गृहस्थी सम्हाल्छु कि कसैको सम्हाल्दिन!यो मेरो बचन भयो तिमीलाई !बाँकी मेरो हातमा छैन ! समीरले पहिलो पटक गौरीका दुवै आँखा आँसुले टलपल भरिएको देख्यो !अनि उसको चित्त काटियो !गौरी मसिनो तर स्पष्ट स्वरमा भन्दै थिई – भन्छन एक पटक धोका दिने बानी लागेकाले सधै सबैलाई धोका दिन्छ !म मेरो प्रतिबद्धतालाइ धोका दिन्न !त्यसैले म अहिले बिहा गर्न सक्दिन समीर !शायद कहिल्यै नसक्ने पनि हुन सक्छ !सक्छौ भने मलाइ माफ गरिदेउ !उसले त्यो भन्दा अगाडी बोल्न सकिन ! जुरुक्क उठेर ऊ क्यान्टिनबाट बाहिरिई अनि गोधुली को झिसमिसेमा मिसिएर हराई !