आखिर कहिल्यै हुन नसकेको कुरा आज भयो !साथीहरुबीच चिया पान सकेर सबै आफ्नो घर तिर लागे पछि अन्त्यमा क्यान्टिनको त्यो टेबलमा गौरी , समीर अनि गौरीकी साथि माला मात्र बाँकि रहे !समीरले गौरितीर हेरेर भन्यो ..गौरी एक एक कप चिया अरु खाउ न है ?गौरीले एक्कासी छक्क परेर समीरको आँखामा हेरी !अनि माला तिर फर्किएर भनी ….माला … मलाई यो क्यान्टिनको चिया किन हो त्यति सारो मन पर्दैन !समीरले भने पछि एक कप चिया त अरु खानै पर्यो !जा त उ त्यो गेट बाहिरको कान्छी दिदीको चिया दोकानबाट मैले भनेको भनेर डेक्चीमा तीन चार कप चिया लिएर आइज !समीरले केहि बोल्न नपाउदै गौरीले पर्सबाट पचास रुपैयाको नोट झिकेर मालालाई दिई !अनि सुन त जान लागेकी मालालाई रोकेर गौरीले भनी साँझ कान्छी दिदीकहाँ माथि गाउँबाट सुद्ध गाईको दुध ल्याउँछ !नहतारिईकन पर्खेर भएपनि त्यो दुध हालेको चिया लिएर आइज !भोली देखि त्यो चिया फेरी खान पाइने हो कि होइन ?आज धित मारी हालौं !माला आज्ञाकारी सेवक झैँ क्यै नबोली त्यसतर्फ लागी !गौरीले समीर तीर फर्केर उसको आँखामा आफ्ना नीला गहिरा आँखा जुधाउदै भनी …अँ समीर भन ! तिमीले केही लामै कथा सुनाउन लागे जस्तो लाग्यो !त्यसैले मैले उसलाई समय लाग्ने काम दिएर पठाएकी छु ! टाढा जादै गरेकी माला तीर आँखाले इसारा गरेर गौरी फेरी समीर तिरै फर्किई !समीर ले एक पटक घाँटी सफा गर्यो !बढ्न लागेको मुटुको धड्कन लाइ बलात रोक्यो !गौरीका आँखामा धेरैबेर हेर्दा उसलाई त्यहाँबाट कुन्नि के को हो ज्वाला निस्किन खोजे जस्तो लाग्थ्यो !त्यसैले उसले आफ्ना आँखा झुकायो !अनि भित्र देखिको बल निकालेर भन्यो गौरी …गौरी ! उसलाई दुइ चोटी बोल्दा पनि आफ्नो स्वर नखुलेको थाहा भयो अनि अझ भित्रबाट बल निकालेर भन्यो गौरी म आज तिमीसंग एउटा कुरा भन्छु है ?बल्ल सुन्न लायक स्वर खुलेछ !गौरीले पनि सुनी !
प्रतिनिधि कथा …………………………………………………………………२
एउटा किन पांच वटा कुरा भनन समीर !तिमीले म संग कुरा गर्न पनि त्यस्तो आत्तिनु पर्छ !भूत हुँ म ?अब त भेट पनि हुन्छ हुदैन ?भन समीर के भन्न लाग्यौ ?गौरीले आफ्ना आँखाले फेरी समीरको भित्र सम्म दुर्बिन्ले हेरे जस्तो गरेर हेरी !
कुरा अलि गम्भीर छ ! .. .समीरले यताउता हेर्दै भन्यो !
गौरी दिल खोलेर हाँसी !समीरलाई यस्तो लाग्यो मानौं वरीपरी रंगी चंगी फूलका मालाहरुले सजिएको मन्दिरमा एकैपटक ताल मिलाएर दुइ तिन वटा हार्मोनियममा मिठो राग छेडियो !उ लट्ठ पर्यो !
कती गम्भीर छ कुरा ? अहिले तिम्रो अनुहारमा बजेको बाह्र भन्दा बढी ? भनन म सुन्दैछु !फिल्मको जस्तो खोलाको किनार ,जंगल तिर गएर गीत गाउने खालको कुरा त होइन होला नी ?तिमि आफ्नो अनुहार ऐनमा हेरत कति रातो भैसक्यो !आफुलाई धेरै कष्ट नदेउ समीर जे भन्नु छ !निर्धक्क भन !गौरीले दिनु पर्ने जती ढाडस दिई !समीरलाई गौरीको अन्तिम वाक्यमा आफ्नो कुरा सुन्ने आतुरी लुके जस्तो लाग्यो !मेरो भ्रम हो उसले सोच्यो!
समीरले गौरीको आँखाको राप सहन नसकेर आफ्ना आँखा यता उता डुलाउदै एक ध्यान भएर भन्यो !गौरी …अब हाम्रो पढाई सकियो !जीवनको नया अध्याय शुरु गर्ने बेला भयो !अब ख्याल ख्याल गर्ने बेला गयो !म तिमीलाई आज यसै क्षण प्रपोज गर्छु !तिमि म संग बिवाह गर्छ्यौ ?मेरो मनमा तिम्रो लागि देवीको भन्दा ठुलो स्थान छ !नाइँ नभन है प्लिज !
एकछिन मानौं चट्यांग खस्यो !पहिरो गयो !त्यसपछि शान्त! केहि पनि आवाज छैन !सियो खसे पनि सुनिएला जस्तो !