बंगाली भाषामा सत्तरीको दसकमा फिर्दोसी रहमान को स्वरमा स्वरांकित यौटा हृदयस्पर्शी गीत छ – “जे जन प्रेमेर भाव जानेना तार सांगे नाइँ लेना देना ,खाटी सोना छाडिया जे नाए नकल सोना सेइ जन सोना चेनेना !नेपालीमा यसको भावार्थ यस्तो हुन्छ – “जसरी असली सुन छोडेर नक्कली सुन लिने मान्छेले सुन नै चिनेको छैन भनेर ठोकुवा गरेर भन्न सकिन्छ त्यस्तै साच्चो प्रेमको अबमुल्यन गर्ने मान्छे जसले प्रेमको भावनै बुझेको हुदैन, त्यस्तो मान्छेसँग प्रेमको के कुरा गर्नु ?”
प्रेम स्वभावैले अराजक हुन्छ !यसले कुनै बन्धन र बाध्यतालाई स्वीकार गर्दैन !अनि कुनै सीमाहरुलाई मान्दैन !यसले आफ्ना नियम र कानूनहरु आफैं बनाउँछ !प्रेमको शक्तिको अगाडी संसारका कुनै पनि अन्य मानवीय शक्तिहरु टिक्न सक्दैनन ! प्रेम आफैंमा सम्प्रभु हुन्छ !त्यसैले यसले आफूमाथि अन्य कुनै सत्ताको अस्तित्व लाइ स्वीकार गर्दैन !प्रेमले माग्न जानेको हुदैन !दिन मात्र जानेको हुन्छ !उ आफ्नो अस्तित्व भित्रै रमाउँछ! प्रेम निरपेक्ष र निराग्रही हुन्छ !यस्तो प्रेमको उदाहरण दिनु पर्दा झट्ट सबैको मनमा आउने मानवीय सम्बन्ध हो आमा र सन्तान बिचको सम्बन्ध !संस्कृतमा एउटा श्लोक छ जसले आमा र सन्तान बीचको प्रेमको महिमा लाइ एक हरफमा व्याख्या गर्छ !त्यो श्लोक हो -“कुपुत्रो जायत क्वचीदपि कुमाता न भवती”अर्थात छोरो कुपुत्र हुन सक्छ तर आमा कुमाता कहिल्यै हुन्न!पुरुष प्रधान समाजको परिप्रेक्षमा व्यक्त यो उद्गारमा कुपुत्र भन्ने शब्दले पुरुष सन्तान तिर मात्र लक्षित गरे जस्तो लागे पनि यथार्थमा यो सबै सन्तान प्रति आमाको प्रेमको महिमा वर्णन गर्ने श्लोक हो र अप्रत्यक्ष रूपमा यसले प्रेमको स्वभावको पनि ब्याख्या गर्छ !आमा र सन्तान बिचको प्रेम, प्रेमको प्रतिनिधि सम्बन्ध हो !सन्तानको उपेक्षापूर्ण व्यबहारबाट आजित भएकी आमाले बढीमा यतिसम्म भन्न सक्छे मेरो दुरबुद्धि र बिबेकसुन्य सन्तानलाई सद्बुद्धि दिन हे इश्वर तिमीले उसलाई दुख नहुने गरी कुनै पाठ पढाउ !प्रेमको निस्वार्थ चरित्रको यो भन्दा ठुलो उदाहरण के हुन सक्छ ?
पुरुष र स्त्री बिचका प्रेम सम्बन्धहरु साहित्यका सबैभन्दा बिकाउ फाटमा वर्गीकृत हुन सक्छन !कहिले कहिँ त यस्तो लाग्छ मानौ प्रेम यसै सम्बन्धको पर्यायबाची नाम हो !जुन पुरुष स्त्री सम्बन्धमा हिँसा प्रतिहिंसाका प्रसंगहरु बाक्लै पाइन्छन तिनलाई प्रेमको नाम दिनु पनि गल्ति हुन सक्छ ! तर जहाँ बिरह र आत्महिंसाका परिस्थिति ल्याउने तर प्रेमीको दुख वा हिंसाको परिकल्पना नगर्ने आदर्श स्थितिको उल्लेख हुन्छ ति सम्बन्धहरु जुन हदसम्म बास्तविकतामा आधारित छन त्यसै हद सम्म ति प्रेम सम्बन्ध हुन ! तर साहित्यका सर्जकहरु त्यसै पुरुष स्त्री प्रेम सम्बन्धका बिभिन्न आयाम हरु खोज्न र तिनको अध्ययन गर्न तम्सिएका होइनन ! एकोहोरो वा दोहोरो स्वार्थ या टिकेका यस्ता सम्बन्धहरुको बिबिधता र जटिलताहरु शायदै अन्य मानव सम्बन्धहरूमा पाइएलान !एकोहोरो लगाव जसमा आफुले चाहेको व्यक्तिलाइ भरसक आफ्नो बनाउने नत्र अरुसंग सुखले जीवन बिताउन नदिने अभिष्ट लुकेको हुन्छ त्यो मानसिक बिचलन हो ,प्रेम होइन ! आफ्ना सम्पूर्ण सामाजिक र जन्मजात जिम्मेवारी बोकेका प्रेमका अन्य सम्बन्धहरुको मुल्यमा एक अर्कालाई हासिल गर्ने नत्र आत्महिँसा सम्म अपनाउन तैयार हुने बाचा बन्धन पनि ब्यबहारीक अनुभवको कमी बाट उत्पन्न हठ हो ,प्रेम होइन !प्रेम ले त अरुबाट स्वीकृत हुने र स्विकृती नभएको अवस्थामा बलिदानको लागि तैयार रहने विनम्रता सिकाउँछ ,जो स्वयम अरुको स्वीकृति प्राप्तिको बलियो आधार हुन सक्छ ! प्रेमको आफ्नो कुनै आग्रह हुदैन !यसलाई कुनै विशेषण को पनि जरुरत पनि हुदैन !स्वार्थले मात्र प्रेममा आग्रह सृजना गर्ने बाध्यता ल्याउँछ र यस्तै स्वार्थको मात्रा नाप्न विशेषण लगाउनु पर्ने हुन्छ !प्रेम सधै नम्रताको नाउ चढेर समर्पणको किनारासम्म जान्छ !