मन सबै इन्द्रियहरुको सारथि हो !आँखा ,कान ,नाक ,छाला र जिब्रो -ई पांच ज्ञानेन्द्रीयहरुले आ आफुलाई मन पर्ने संवेग मार्फत सुन्दरताको परख गर्दछन !आँखाको लागि सुन्दर कुरो राम्रो दृश्य हो ,कानको लागि सुन्दर प्रिय कुरा सुन्नु हो ,नाकको लागि सुन्दर सुगन्ध ग्रहण गर्नु हो ,त्वचा (छाला )को लागि सुन्दर आनन्ददायी स्पर्श हो ,जिब्रोको लागि सुन्दर मिठास हो !ज्ञानेन्द्रीयहरुले ई सुन्दर संवेगहरु हरेक पटक ग्रहण गरिरहँदा सधै सबैको त कुरै छाडौं यौटै व्यक्तिलाई पनि त्यहि र त्यस्तै अनुभूति सधैं हुन्छ भन्ने निश्चित हुदैन !कारण ज्ञानेन्द्रीयहरु सुन्दरताको परख गर्ने एक मात्र माध्यम होइनन !इन्द्रियको माध्यमबाट प्रवेश गरेको संवेग मनको कसीमा खारिएर मात्रै सुन्दरताको अनुभूति पूर्ण हुन्छ !मन संसारको सबभन्दा छिटो र चंचल बस्तु हो !यसको स्थिति र अवस्थामा क्षण क्षणमा परिवर्तन आईरहन्छ !मनको स्थितिअनुसार ज्ञानेन्द्रीयहरुले ग्रहण गरेका संवेगहरुको अन्तिम अनुभूतीमा पनि परिवर्तन हुन्छ !मनमा शान्ति र खुसीको वातावरण छ भने इन्द्रियहरुका सामान्य अनुभूती हरु पनि अत्यन्त सुन्दररूपमा अनुभूत हुन सक्छन !कारण त्यसअवस्थामा मनमा सकारात्मक सोच ब्याप्त हुन्छ !त्यसको ठिक उल्टो मनमा अशान्ति र अप्रसन्नता छ भने इन्द्रियहरुले ग्रहण गरेका सुन्दरतम संवेगहरुले पनि मनमा पुग्दा सम्म आफ्नो सुन्दर स्वरूप गुमाऊछन्!
सुन्दरताको अनुभूति गर्ने मन हो ! इन्द्रिय होइन ! मनको अनुकूलतामा प्रकृतिको स्वरूप पनि अनुकूल देखिन्छ अनि प्रतिकूलतामा प्रतिकूल !त्यसैले साहित्यमा बर्षातको सुन्दरताको पनि बर्णन पाइन्छ ! हिउदको सिरेटोको सुन्दरताको पनि बर्णन पाइन्छ !मरुभूमी को बालुवाबाट उठ्ने रापको पनि बर्णन पाइन्छ ,समुद्रको निलोपनको पनि बर्णन पाइन्छ !आफैंमा सुन्दर केहि पनि छैन अनि आफैंमा कुरूप पनि केहि छैन ! इन्द्रियको बाटो हुदै मनको कसीमा जाचिने चेतनाको स्वरूप, परख गर्नेको मनको स्थितिले निर्धारण गर्छ !
बस्तुको सुन्दरतामा मात्र होइन ,यो कुरा प्राणीको सुन्दरतामा झन लागु हुन्छ !रंग ,रोगन उचाई ,मोटो वा पातलोपनको आधार लिएर छुट्याइने सुन्दरता कृत्रिम हो !त्यसले मानिसको सोचको प्रतिनिधित्व गर्दैन !साच्चो सुन्दरता मनको सोचमा निहित छ !मानसिक अहिंसा र अरुलाई आफ्नो दृष्टिकोण बाट होइन आफुलाई अरुको दृष्टिकोणबाट हेर्ने गुणले मानिसलाई बढी सुन्दर बनाउछ,जुन कुरो उसको मनको रूपमा प्रतिबिम्बित हुन्छ ;शारीरिक रूपमा होइन !बाहिरी सुन्दरता भित्र प्रतिबिम्ब छोड्न असफल हुन्छ !तर भित्रि सुन्दरताले मानिसलाई मृदुभाषी बनाउछ !उसको व्यवहारलाई अहिंसक बनाउँछ !सोचको उज्यालोले भित्री बाहिरी दुवै संसारलाई उज्यालो बनाउँछ !उदार बनाउछ !जसले आफ्नो मात्र मनलाई स्थिर र प्रसन्न राख्ने मात्र होइन ,सम्पर्कमा आउने वरिपरिका सबैलाई प्रसन्न बनाउछ !आँखा नदेख्ने,कान नसुन्ने,सुघ्न नसक्ने, छामेको थाहा नपाउने अनि स्वाद नपाउने मान्छेले पनि सुन्दरतालाई लाइ कुनै न कुनै रुपमा अनुभूत गरेकै हुन्छ ! आँखा नदेख्नेले आवाज सुनेर ,छामेर वा अन्य सम्बेदनाहरुले मनमा परेको प्रभावका आधारमा सुन्दरताको आकलन गर्छ !अहं र आग्रहले प्रकृतिको रूपलाई राम्रो र नराम्रो मा विभाजित गर्छन !अहं र आग्रह को प्रभावबाट मुक्त गर्ने हो भने सृष्टिको प्रत्येक संरचना सुन्दर छ !मन अहँ र आग्रहको प्रभावमा छ भने मान्छेले सुन्दरताको सापेक्षिक स्वरूप आफैंले निर्धारण गर्न लाग्छ अर्थात हरेक कुराको सुन्दरतालाइ आफै द्वारा स्थापित मापदण्ड संग तुलनात्मक रूपमा दाज्न खोज्छ !जसले गर्दा कुनै चिज राम्रो ,कम राम्रो ,बढी राम्रो अथवा अझै राम्रो विशेषण सहित वर्गीकृत हुन पुग्छ ! त्यति मात्र पनि नभएर यो भन्दा त्यो राम्रो र त्यो भन्दा यो राम्रो को रुपमा सुन्दरताको तुलनात्मक परिभाषा ले जब बढी चर्चा पाउन थाल्छ तब त्यसमा मौलिकता हराउदै जान्छ ! अर्कोतिर मानवीय सम्बन्धहरुमा अहं र आग्रहको प्रभाव जब सम्म पर्दैन त्यो सत्यमा बढी आधारित हुन्छ र सत्यको मौलिक स्वरूप आफैंमा सुन्दर हुन्छ जसको अनुभूति गर्न मान्छेलाई इन्द्रियको जागरुकता भन्दा मनको स्वच्छता बढी आबस्यक हुन्छ !सानो बच्चाले जब मुसुक्क मुस्काएर हेर्छ ,तब त्यो जस्तो सुन्दरतम दृश्य अर्को हुदैन कारण त्यो मुस्कानमा कुनै किसिमको आग्रह र अहम हुदैन !बच्चामा हुन सक्ने यौटै आग्रह खाने कुराको उसको जरुरत को कारणले उत्पन्न हुन्छ ! !त्यो उसले जन्मजात रुपमा लिएर आएको हुन्छ !त्यो बाहेक अन्य कुनैकुरा उसको तत्कालिन जरुरतको सुचिमा पर्दैनन् !त्यसैले अन्य कुनै कुराबाट उसको ब्यबहार प्रभावित हुदैन !उसमा उमेरपुगेको मान्छेको जस्तो अहम पनि हुदैन !जसलेगर्दा उसका अरुसंगका अन्तरसम्बन्धहरु प्रभावित हुदैनन !जति जति उसको उमेर बढ्दै जान्छ, त्यति त्यति बढ्दा आबस्यकतासंगै बढेका उसका आग्रह र उसको हुर्कदो अहम संग संगै उसको मौलिक सुन्दरता हराउदै जान्छ र उसको सुन्दरता परख गर्नेको मनको स्थिति अनुरुप सापेक्षिक हुदै जान्छ !संसारमा अस्तित्वमा रहेका सबै मानव सम्बन्धहरु कुनै न कुनै स्वार्थमा आधारित हुन्छन !त्यसैले स्वार्थ मिल्दा तिनमा सुन्दरता देखिने र स्वार्थमा आघात पर्दा तिनमा सुन्दरता लोप भएको महसूस हुने मानवीय प्रवृत्ति हुन्छ !अर्को शब्दमा भन्दा सबै मानव सम्बन्धहरु लेन देनको सन्तुलनबाट बलियो हुने खालका हुन्छन ! मानवीय सम्बन्धमा सबै भन्दा बढी निस्वार्थ मानिएको आमा को सन्तान संगको सम्बन्धमा पनि आमाले सन्तानबाट भौतिक कुरा प्राप्तिको अपेक्षा नगरे पनि मायाको बदलामा माया चाहन्छे !उसले सन्तानलाई गर्ने अकुण्ठित प्रेमको बदलामा सन्तानले उसलाई प्रेम गरोस भन्ने अपेक्षा उसको पनि हुन्छ !अन्य सबै सम्बन्ध भन्दा यो सम्बन्ध बढी निस्वार्थ किन मानिन्छ भने यसमा प्रेमको साउँको बदलामा भौतिक ब्याज समेत थपेर प्रत्युत्तर खोज्ने प्रबृत्ति हुदैन !त्यस पछिका सबै सम्बन्धहरूमा धेर थोर त्यस्तो अपेक्षा हुन्छ !बाबुको सन्तान संगको सम्बन्धमा पनि आमाको जस्तै प्रेमको बदलामा प्रेम चाहने पक्ष हुन्छ !तर त्यस संग संगै छोरा वा छोरीले आफ्नो नाउँ र इज्जतमा वृद्धि गरिदियोस,सम्पतिमा पनि वृद्धि गरोस र आफुले उचित मानेको बाटोमा सन्तान हिडेर आफ्नो अभिभावकीय सफलतालाइ सन्तानले समाजको अगाडी अझ स्पष्ट पारिदेओस भन्ने अपेक्षा पनि लुकेको हुन्छ !अर्को अर्थमा प्रेम र अभिभावकीय लगानीको बदलामा बाबुले ब्याज सहित साउँको प्रत्युत्तरमा ब्याज सहितको अपेक्षा राख्छ !त्यसैले आमा र बाबुको सन्तान संगको सम्बन्ध पनि फरक फरक किसिमको हुन्छ !आग्रह मिसिएको हुँदा निस्वार्थताको दृष्टिकोणले बाबुको सन्तान संगको सम्बन्ध आमाको सन्तान संगको सम्बन्ध पछी दोस्रो ठाउँमा मात्र आउँछ !दाम्पत्य जीवनमा पति पत्नी बिचको सम्बन्धमा बराबरीको लेन देनको अपेक्षा हुन्छ !कारण त्यो करार हो !करारको पालना गर्दा अबस्यक्ताका सिद्धान्त अनुसार करार भएको र त्यसै अनुसार त्यसका शर्तहरु निर्धारण हुने हुदा तिनको द्विपक्षीय पालनाको अपेक्षा स्वाभाविक पनि हो !सन्तानको जन्म पछी यसमा अर्को यौटा पक्ष अप्रत्यक्ष रूपमा थपिन्छ जसले आपसी लेन देनको व्यवहारलाई केहि परिवर्तित गर्छ !स्त्री पुरुष बिचको प्रेम सम्बन्धमा भावनात्मक रुपमा समान ब्यबहारको तिब्र अपेक्षा रहन्छ,तर सामाजिक मान्यता र नारी पुरुषबिचको बिभिन्नताले तात्विक अर्थमा रति र मासामा सधैं त्यस्तो हिसाब किताब राख्न सम्भव हुदैन !जसले गर्दा त्यस्तो सम्बन्ध कहिलेकाहीं यथार्थताको धरातलमा उभिन नसकेको प्रतित हुन्छ !कतिपय समाजशास्त्रीहरुले दिन मात्र जानेको लिन नजानेको यस्तो सम्बन्धको परिकल्पनालाइ साहित्यको मात्र सम्पति मान्छन ,अनि यथार्थमा यस्तो सम्बन्धको अस्तित्वलाई स्वीकार गर्दैनन !
आत्मसम्मान र आत्मविश्वासयुक्त सरलता , विनय र नम्रता प्रेमका परिचयात्मक विशेषता हुन् ! अराजक भए पनि प्रेमको आफ्नै विशिष्ट अनुसाशन हुन्छ !जब प्रेम यो अनुसाशन पनि तोडेर एकोहोरो र तर्करहित अन्ध समर्पणमा परिणत हुन्छ ,अनि त्यो प्रेम मात्र रहदैन ! भक्तिमा रूपान्तरण हुन्छ !