फेसबुकमा पोस्ट गरिएको अन्जलीको नया फोटोलाई लाइक गर्दै प्रीतिले कोठा बाटै चिच्याएर ममीको बोलाहटको जवाफ दिई -आएँ ममी !
ममीले भान्साबाटै फेरी चिच्याउनु भयो -भुजा सेलाई सक्यो ,छिटो आइज ! हत्त पत्त पढन मन नलाग्ने ! पढन बसे पछी छाडन मन नलाग्ने ! कस्तो बानी हो तेरो ? छिटो आइज !
कम्पुटरलाइ हत्त पत्त लग अफ गरेर टेबलमा राखेर उठेपछि उ बिस्तारै भान्सा तिर लागी !खान त पटक्कै मन थिएन !दिउसो साथीहरुसंग दरबारमार्गमा खाएको पिज्जा घाटि सम्म आए जस्तो लागिरहेथ्यो ! तर ममीको मन राख्न पनि भाग सम्म त बस्नै पर्यो ! नत्र प्रीतिलाई थाहा छ ,ममीले पनि क्यै खानुहुन्न ! घरका सबै परिवारले राम्रो संग भाग बसेर नखाए सम्म सन्तोष नहुने वहांको बानी छ !सबैले नखाएसम्म भान्सा उठदैन रे !
भान्सामा गएर हात धोई वारी उ खान बसी !नाई नाई गर्दा गर्दै ममीले थुप्रो खाना पस्किनुभो !उसलाई फसाद पर्यो !आधा खाना खाइ सके पछी अब एक गास पनि बढी खाए उल्टी आउला जस्तो भएर पेट डम्म फुलेर आयो ,असजिलो भयो !
ममी आज मलाई त्यति भोक लागेको छैन !यहाँ भन्दा बढी अब म खान सक्दिन !मैले अघिनै हजुरलाई धेरै खाना नराख्न भनेको !म त उठें है !प्रीति उठेर हात धुने ठाउँ तिर लागी !
के भाको आजकालका केटा केटीहरुलाई !पेट भरि खान पनि नसक्ने !अनि कसरि पढने,काम गर्ने जाँगर आउँछ ?हामी त इनिहरुको उमेरमा भान्सामा गएपछि आँखा चिम्लेर एक थाल टन्न खान्थ्यौं ,अनि बोल्न थाल्थ्यौँ ! ममीले मन नपरेको भावले गन गन गर्न थाल्दा प्रीति लगभग ढोका बाहिर पुगिसकेकी थिई !त्यसपछि त ममीले के के भन्नु भो उसले सुन्नै छाडी !
भोलिपल्ट क्याम्पसबाट मनकामनाको टूर जाने कार्यक्रम थियो ! त्यसैले उ कोठामा पुग्नासाथ बिछ्यौनातिर लागि हाली ! निन्द्रा उसको अत्यन्त प्रिय बस्तु थियो !अहिले छिटै नसुते बिहान उ ढिलो उठछे ,छिटै उठी हाले पनि निन्द्रा नपुगेको अवस्थामा उसले भोलीको साथीहरुसंगको रमाइलो केहि पनि इन्जोय गर्न सक्दिन भन्ने उसले राम्ररी बुझेकी थिई !त्यसैले ,छिटो छिटो घडीमा अलार्म लगाएर सिरक भित्र पसी !