बिस्तारै निसानको लागि मंदिरनै घर जस्तो भयो !सुरु सुरुमा साँझको भजन आरती कार्यक्रममा मात्र आउन थाले पनि बिस्तारै उसलाई मन्दिरको प्रांगण र त्यसको वरीपरी आउने बित्तिकै एक किसिमको अनौठो आनन्द र शान्तिको अनुभूती हुन थाल्यो !स्कूलको पढाइमा उसलाई रस लाग्न छाड्यो !सिद्धान्तका कुरा भन्दा मनलाई ब्यबहारिक शान्ति दिने कुरा उसको लागि त्यस्तै भयो जस्तो मरुभुमीको अनन्त यात्रामा हिंड्दा पानीको प्यासले छटपटिएको यात्रीलाई पानी पिउन पाउदा हुन्छ !
उसको भजनले कैयौं मानिसका आँखाबाट इश्वरप्रति अनुग्रहका आशु छचल्किएको देख्दा उसलाई आफ्नो जन्म सार्थक भएझै लाग्थ्यो !बल्ल उसको आत्माले जन्मनुको सार्थकता लाइ आत्मसात गर्न थालेको जस्तो उसको मनलाई महसूस हुन्थ्यो !
धन्य छ यो मन्दिरको यो चौतारो जसले प्यासीलाई पानी र मूललाई बहाव दिएको छ !यहाँ सबै केहि न केहि कामना लिएर आउछन ,कुनै न कुनै अधुरा सपना !कतिको अनुहारमा त निराशा र असन्तुष्टि उसले पढन सक्ने गरी लेखिएको हुन्छ ! !तर जाँदा सबैका मुख र आँखामा यौटा चमक हुन्छ ! यहाँबाट जाँदा सबै आ आफ्ना मनका अधुरा कामना हरु पुरा हुने आशा र सकारात्मक बिश्वास लिएर जान्छन ! उनीहरुलाई लाग्दो हो -हुन सक्छ उनीहरुको त्यहि बिस्वासले उनीहरुलाई आफ्ना कामना सिद्ध गर्ने सहि मार्ग पहिल्याउने अनि त्यो मार्गमा हिडीरहने शक्ति दियोस र उनीहरु साच्चै आफ्ना अधुरा इच्छाहरु पुरा गर्न सफल होउन !कतै न कतै यो तिर्थ यात्राले उनीहरु भित्र रित्तिएको बिश्वासको घडा फेरी भरी दिन्छ ! त्यो भरिएको घडा सांसारिक कामना र वासनाका बालुवाका नया ढिस्काहरुले सोचेर सुष्क भएपछि फेरी तिनै मानिसहरु विश्वासका खाली घडा बोकेर फेरी आउंछन पधेरोमा पानीको घडा लिएर फेरी फेरी भर्न आए जस्तै ! उ आफु स्वयमलाई अनुभव छ – मनको शान्ति जस्तो ठुलो बल अरु कुनै पनि हुदो रहेनछ !मनको अशान्ति जस्तो ठुलो कमजोरी पनि केहि हुदोरहेनछ !मनको विश्वास जस्तो सदमार्ग पनि केहि हुदो रहेनछ अनि मनले बाटो बिराउनु जस्तो अध्यारो पनि केहि होइन रहेछ !
हजारौं हजार मान्छेले उसको भज़नबाट प्राप्त सुखलाई आँखा चिम्लेर अनुभूत गरेको उसले झल्झल्ती देखेको छ !देखेको भन्नाले उसका बाहिरी आँखा अर्थात् उसका चर्म चक्षुले मात्र देखेको होइन,महसूस पनि गरेको छ ! उसलाई यस्तो लाग्छ यहाँ आउँदाका उनीहरुको बिश्वासको घडाको स्खलन र असुरक्षाको भावलाई चिन्ने उसको क्षमता दिन दिन बढ्दो छ !त्यस्तै यहाँको वातावरणले उनीहरुको नकारात्मक असुरक्षा भावलाइ सकारात्मक विश्वासमा परिणत गरेर उनीहरुको मनको पीडालाई कम गरेको पनि उ स्वयमले उनीहरुको आँखामा हेरेर अनुभूत गर्न थालेको छ ! इश्वरीय तत्वको महिमा वर्णन गर्ने उसका भजनलाई सम्पूर्ण रूपमा तन्मय भएर स्वाद लिई रहेका कैयौं नर नारीको आँखा संग आँखा जुध्दा उसलाई बेला बेला यस्तो लाग्छ , मानौं त्यो एक क्षणको लागि , उसको र उनीहरुको मन यौटै भएको हुन्छ ! त्यो एक मुहूर्तको लागि दुबैको अनुभूतीको धरातल यौटै सतहमा एकै तलमा एकाकार भए जस्तो हुन्छ !दुबैले दुबैको गोप्यता भंग गरे जस्तो !त्यो एक मुहुर्तमा ,त्यो आफ्नो आत्माले आफैसंग कुरा गरेको बेलामा अरुको स्खलित बिश्वासको तलबाट उसलाई उद्धार गर्ने कारण आफु हुन पाएको महसूस गर्दा जस्तो शान्ति मान्छेलाई अन्य कुनै बेला हुदैन !अनि यो शिक्षा जस्तो काम लाग्ने शिक्षा पनि मान्छेको लागि कुनै हुदैन !
यो महसूस भएको भोलिपल्ट निसानले स्कूल जान छाडिदियो !स्कूल जान छाड्नु उसको लागि जति सहि घटना थियो ,उसको परिवारको लागि त्यत्तिकै ठुलो दुर्घटना थियो त्यो !मन्दिरमा साँझ भजनको लागि जान थाले पछी पहिलोपटक उसको परिवारले समाजबाट उसको बारेमा सकारात्मक कुरा सुन्न पाएको थियो !निसानको आँखामा पनि एक किसिमको चमक र ठहराव उनीहरुले देख्न थालेका थिए !पहिलेको जस्तो असन्तोष र ब्याख्या गर्न नसकिने पीडा उसको अनुहारमा अब थिएन !उसका आमा बाबुले सोचेका थिए अब उ सुध्रिने छ !पढेर ठुलो मान्छे हुनेछ !अनि उनीहरुको एक्लो छोरोको समृद्धिको साँचोले उनीहरुको परिवारका सुदिनको बाकसको साँचो खोल्नेछ !