प्रतिनिधि कथा ………………………………………………………………………………८

उसका बाबाले फेरी एक पटक इन्सान बहादुर थापा मगरसँग  मन्दिरको पुजारीको हैसियतले भन्दा पारिवारिक अभिभावकको हैसियतले कुराकानी गरे !इन्सान बहादुर पनि एक पटक यो कुरा सुनेर छक्क परे !फेरी उनले आँखा चिम्म गरेर केहि नबोली निकै बेर ध्यान गरे जस्तो मुद्रा बनाए !अनि निसान लाइ पनि संगै राखेर भरे बेलुका सन्ध्या भजन पछी कुराकानी गर्ने गरी सहिलालाई घर पठाए !

बेलुका भजनको बेलामा सयौं मान्छेको अगाडी निसानले गाएका भजन हरुले कतिका आँखा भक्ति र विश्वासले द्रवित भए ,कतिका मनमा आजराती शान्ति ले निन्द्रा पर्ने आशा जागे ,कतिका नकारात्मक मनस्थितिको तातो रापलाई भजनको शरणागत मनस्थितिले सहन सकिने गरी ठण्डा बनायो ! अन्त्यमा सबै मनकामना माताको जय जयकार गर्दै आ आफ्ना बासस्थान तिर लागे !अन्त्यमा सबै पूजाविधि सकिएपछि मन्दिरको ढोका अगाडिको चौतारोमा केवल तिन जना मात्र बाकी रहे पछि इन्सान बहादुरले कुरा सुरु गरे -निसान तैले पढ्न जान छोडिस भनेर तेरो बाबुले सार्है चित्त दुखाएको छ !आठ क्लास सम्म त तैले पास गरेकै थिइस क्यार !पढाई धेरै राम्रो नभए पनि यहाँ मन्दिरमा भजनमा आउन थालेको पांच बर्षमा तँ फेल भएको मैले सुनेको छैन !अध्यात्म र संगीतमा तेरो रुची र क्षमता देखेर र अनुभव गरेर म कहिले कहीं आफैं चकित हुन्छु !यो युगमा त आफैले रचना गरेका भजन ,अध्यात्म का चर्चा चल्दा तैले गर्ने गम्भीर कुराहरुले कहिलेकाही मा आफैं पनि छक्क पर्छु !अनि माताको लीलाको अगाडी नतमस्तक हुन्छु !हाम्रै बंशमा ,हाम्रै कुलमा  मनकामना माताले धर्मको सहि ब्याख्या र अध्ययन गर्न सक्ने सुपुत्र पठाउनु भएकोमा कृतज्ञ पनि हुन्छु !तर समय अनुसारको काम पनि त गर्नु पर्छ नि !तेरो बाबुको त एक्लै छोरो होस !पिता पुर्खाको आर्जनमा केहि थप्न नसकेर त्यसैलाई अंशबण्डा गर्दा गर्दा अब आफ्नै खेत बारीको आम्दानीले बढ्दो महंगीको यो समयमा आफ्नो परिवारको  लालन पालन गर्न        हाम्रो कुलमा अब सबैलाई असम्भव हुन थालेको बेला छ !तेरा पनि एउटी दिदि र दुइ दुइ वटी बहिनि छन !तेरो बाबुको आस भनेको तै होस ! उनीहरुको बिहाबारी तेरो बाबुले गर्नै पर्यो !त्यसपछि तेरो बाबु आमाका हात खुट्टा चलेर कुटो कोदालो गर्न सकुन्जेल त ठिकै छ ! तर त्यसपछि तैले नपढे तिन तिन वटी छोरीको बिहा गरेको तेरो बाबुले आफ्नो र तेरी आमाको  बुढेसकालको लागि के राख्ला र तेरो लागि के छोडेर जाला ?उसको कुरा मैले तेरो अगाडी जस्ताको तस्तै रखिदिएकोछु !अब तैले के बिचारले पढ्न छोडिस ?त्यो कुरा तँ पनि स्पष्ट बता!

निसानले एक पटक बाबुको मुख तिर हेर्यो !त्यसमा निराशा र गहिरो दुश्चिन्ता स्पष्ट लेखिएको थियो !उसले त्यो पढ्यो अनि सानो तर दृढ आवाजमा उ भन्दै गयो -बा जुन शिक्षा स्कूलमा पढाई हुन्छ ,म त्यसबाट मेरो उन्नतीको सम्भावना देख्दिन !किनकि त्यहाँ  भाषा पढाइन्छ ! बिचार विनिमयको त्यो क्षमता  मेरो  बिचारमा कि त मान्छेले जन्मदा लिएर आउनु पर्छ  कि त उसले  वातावरण बाट पढनु पर्छ !त्यहा पढाई हुने भाषा भन्दा मान्छेले भित्र अनुभव गर्ने सक्कली भाषाको पढाइ यो मन्दिरमा हुन्छ जस्तो मलाई लाग्छ !त्यहाँ लेनदेनको हिसाब पढाई हुन्छ ,मलाइ  कसै संग कुनै भौतिक सम्पतिको लेन देन गर्नु छैन ! इश्वरले दिएको जे छ ,मान्छेले त्यसको अधिकतम  रक्षा र प्रयोग कसरी गर्न सक्छ , त्यो हिसाब पढ्न मलाई मन छ !त्यो पनि त्यहाँ भन्दा राम्रो यहीं पढाई हुन्छ !त्यहाँ जुन संसारको बारेमा इतिहास, भूगोल ,सामाजिक शास्त्र भनेर पढाइन्छ ,मलाई त्यो संसारमा मेरो भूमिका के हो त्यो  थाहा छैन ! जुन संसारमा मेरो भूमिका मैले बुझेको छु !त्यसबारेमा त्यहा पढाइ हुदैन !  अनि घोकेर, लेखेर पास भएर म बा को सम्पतिमा के थप्न सक्छु ?इश्वरले सृष्टी गरेको संसारको रहस्य अलिकति मात्र यस मन्दिरमा आउने मानिस र यहाँ बस्ने इश्वरको बिचमा हुने अलौकिक सम्बादको  अध्ययनबाट  सिक्न सके भने मेरो जीवन सार्थक हुन्छ !तपाइको र मेरी आमाको मलाई जन्म दिनुको उद्देश्य पनि यसरीनै सफल हुन्छ जस्तो मलाइ लाग्छ !

पुजारी ठुलाबा तपाई भगवतीको सेवा गर्नु हुन्छ !खान पनि तपाइलाई वहालेनै पुर्याउनु हुन्छ !कुन मान्छेले कुन मान्छेलाई अहिले सम्म प्रारब्ध दिएको छ ?त्यो त इश्वरले दिने न हो !मिल्छ भने आजदेखि म यसै  मन्दिरको एक कुनामा माताको सेवा गरेर बस्छु ,मान्छेको ब्यथा ,कथा पढ्छु र सृष्टिकर्ताको लीला पढने  कोशिश गर्छु ! मेरो तपाई संग अनुरोध छ सक्नुहुन्छ भने त्यस्तो ब्यबस्था मिलाउन मलाइ सहयोग गर्नुस !

अनि आफ्नो बाबु तिर फर्केर उसले दुवै हात जोडेर भन्यो -बा मलाई माफ गर्नुस ,अहिले मैले तपाइको मन दुखाए !मलाई थाहा छ तपाइको मन अहिले भ्रमले रुदैछ !तर कुनै दिन इश्वरले यो कुरा तपाइलाई पनि बुझाउनेछन !

त्यसपछि कोहि बोलेन ! कसै संग बोल्न बाँकि शब्द थिएन !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s