चेतनालाइ छोपेर बसेका पत्रहरु एक पछी अर्को गरेर खुल्दै गए !हिउदका दिनहरुको मध्यान्हतिर कालो अध्यारो बाक्लो तुवालोलाई छिचोल्दै सूर्यको किरण बिस्तारै निस्केर डाडाका टुप्पा, पर्वतका भित्ता,अनि खोंच हुदै धर्तिको छातिभरी बिस्तारै फैलिदै गए जस्तो ! टाढा कतै गुन गुन गरेको अर्थ नखुल्ने झ्याउकिरीको आवाज जस्तो तिखो स्वर बिस्तारै थुप्रै मानिसहरु एकैपटक बोल्दा आउने हल्लामा परिणत हुदै गयो !
चेतनालाइ निस्तेज गर्न लागेका पर्दा हरु एक पछी अर्को गरेर खुल्दै गए पछी , बर्सातका दिनमा परेको छडके पानीको बाछिटा जस्तै मुखमा चिसो पानीका छिटाहरुको आलो स्पर्श उसले स्पष्ट बुझिने गरी अनुभव गरेको सबैभन्दा पहिलो स्नायु संवेग थियो ! त्यसपछि चिसो पानीको त्यो तिखो स्पर्शले उसलाई शरीर र खासगरी मस्तिष्कका रक्तनलीहरुमा रगतको बन्द भएको प्रबाह्लाई एक्कासी खोली दिएजस्तो लाग्यो !त्यसको साथै त्यो प्रवाहको अत्यधिक अस्वाभाविक तेजले उसको शीर भित्र मस्तिष्कका नसाहरुमा सहनै नसकिने नमिठो पीडाको अनुभव भएको पनि उसलाई स्पष्ट हुदै गयो !रिंगटा लागेर वाक वाकी आउला जस्तो असजिलोपनका साथै उसको सम्पूर्ण शरीरमा एक किसिमको कम्पनको अनुभव पनि उसले गरी !उसको सम्पूर्ण शरीर एक तमाशले गह्रौ भएको थियो र त्यो गह्रौं शरीरको वरीपरी थुप्रै मानिसका टाउकाहरु उ माथि अब खसे तब खसे जस्तो गरेर झुकेका थिए !ती टाउकाहरु केही उसको स्मृति पटलमा धमिलो छाप छाड्न सफल थिए भने केही उसको लागि नितान्त अपरिचित थिए !रिंगटाको प्रभावले ग्रस्त उसको मस्तिष्क पूर्ण संबेदनहीनताको स्थितिबाट बिस्तारै संबेदनशिलताको अवस्था तर्फ फर्किदै गर्दा उसले आफुलाई एउटा कोठामा सामान्य अग्लो खाटमा सुतीरहेको अवस्थामा पाई !
उसको छेउमै बसेकी यौटी युवती जसको अनुहार र आवाज उसको मस्तिष्कमा बिस्तारै झन झन परिचित हुन खोज्दै थिए हातमा लिएको प्लास्टिकको जगबाट अर्को हातमा पानी खन्याउदै उसको अनुहारमा छर्कदै थिई !साथ साथै बीच बिचमा उ पानी मुखमा छर्किने काम रोकेर त्यस हातले उसको चिउडोमा पक्डेर हल्लाउदै केही आत्तिएको स्वरमा उसलाई सम्बोधन पनि गर्दै थिई -प्रीती ……प्रीती !
रातको कालो घनघोर अध्यारो बाट प्रभातको सुर्योदयको बेलाको खुला आकाशमा कसैले धकेलेर एक्कासी पुर्याईदिए जस्तै गरी उसको मस्तिष्कमा ब्याप्त विस्मृतिको कालो पर्दा पनि खुल्यो ,अनि उसलाई आफ्नो परिचय पनि एक्कासी याद आयो -उ प्रिती हो !काठमाडौँको यौटा मध्यम बर्गीय परिवारमा जन्मेर अहिले स्नातक तहको अन्तिम वर्षमा अध्ययन गर्दा गर्दै जाडोको छुट्टी सुरु भएको भोली पल्ट मनकामना दर्शनका लागि साथीहरुसंग उ मनकामना आउँन हिडेकी थिई !त्यसपछि विस्मृतिको अध्यारो झन् झन् छाटीदै गएर स्मृतिको उज्यालोले त्यसको ठाउ लिदै गर्दा आज मध्यान्ह मनकामना दर्शन केवल कारको अवतरण स्थलमा उस संग भएको दुर्घटनाअघि सम्मको एक एक क्षण सजीव भएर उसको अगाडी उपस्थित भयो !उ माथि झुकेर उभिएकाहरुमध्ये धेरै अनुहार हरुलाई उसले चिनी ! ति उ संगै पिकनिक आएका उसका साथीहरु थिए !अनि अघि उसको मुखमा पानी छर्केर उसलाई प्रिती भनेर बोलाउने युवति उसकी सबैभन्दा नजिककी संगिनी अन्जली थिई !
फुट्ला जस्तो गरी सोला हानेर दुखीरहेको आफ्नो टाउको लाइ उसले आफ्ना दुवै हातले पकडीएर छामी !फुटेको छैन ,दुरुस्त छ !एक पटक उसको दिमागमा फेरी भाउन्न होला जस्तो भयो !उसको टाउको त दुरुस्त हुनु नपर्ने ,फुटेर धुजा धुजा हुनु पर्ने…… ?अनि उसको शरीरका प्रत्येक जोर्नीहरु यसरी चलाउन नमिल्ने गरी क्षत विक्षत भएका हुनु पर्ने !यत्रा मानिसहरु त्यो पनि ई परिचित अनुहारहरु पनि कसरी उसकै सतह भन्दा अलिकति मात्र माथिबाट उ माथि झुकीरहेछन ?उ कहाँ छ ….? यतिका प्रश्नहरु एकै पटक उसको मस्तिष्कमा उब्जिदा एक्कासी फेरी शीरमा रक्त प्रवाहको बेग बढे जस्तो लाग्यो ! वाक वाकी होला जस्तो भयो !अनि त्यो भन्दा अगाडी सोच्न उसले सकिन !