मलाई होस आउदा स्थानीय हेल्थपोस्टमा हेल्थ असिस्टेन्टले मेरो स्वास्थ्य परिक्षण गरीरहेको रहेछ ! उसैको सल्लाह अनुसार सुबिधा सम्पन्न एम्बुलेन्सको ब्यबस्था बिना खासगरी बेहोस अवस्थामा मलाई तत्कालै काठमाडौँ फर्काउन पट्टि लाग्नु भन्दा केहि समय मेरो स्वास्थ्य स्थितिलाई त्यहि राखेर अध्ययन गर्नु उपयुक्त ठानिएको रहेछ ! त्यसै दिन मनकामना आएका एक जना सर्जन डाक्टरसाहेब पनि दुर्घटनाको हल्ला सुनेर हेल्थ पोस्टमै मलाइ हेर्न आएछन !भुइमा ठोक्किनु अगाडिनै मलाई सहारा दिएर पछारिन बाट बचाइएको हुनाले मेरो मस्तिष्क र शरीरमा धेरै ठुलो चोट नपुगेको तर त्यति ठुलो उचाई बाट खसेर बचाउने मान्छेको हातमा पर्दा सम्ममात्र पनि शरीरको तौल र बचाउने शक्तिको प्रतिरोध बिचको ठक्करले मेरो मस्तिष्क हल्लिएर” कन्कसन” भन्ने सामान्य आघात पुगेको कारणले म बेहोस भएकी रहेछु !मलाइ आबस्यकता परे रगतमा सिधै पुग्ने औसधि तत्काल दिनु पर्न सक्ने अनि वाकवाकी लाग्ने र टाउको दुख्ने क्रम नरोकिएसम्म मुखबाट कुनै कुरा यहाँ सम्म कि पानी पनि खान दिन नमिल्ने हुदा , आबस्यकता अनुसार पानी समेत सिधै रगतमा पठाउने बाटो खोल्ने सल्लाह वहा र स्थानीय हेल्थ असिस्टेन्टको बिचमा भए पछी मलाइ सलाइन चढाउन सुरु गरिएको रहेछ !
करिब चालिस मिनेटको बेहोसी र अर्ध बेहोसीको अवस्था पछी मलाइ अब सबै कुराको होस आइ सकेको थियो !त्यस अर्थमा म पूर्णरूपले ठिक भैसकेकी थिए !तर सोला हाने जस्तो गरेर टाउको दुख्ने र रिंगटा लागेर हलुका वाकवाकी हुने लक्षण भने जस्ताको तस्तै थिए !
हेल्थ पोस्ट इन्चार्ज हेल्थ असिस्टेन्ट र दर्सनार्थी सर्जनको बिचमा भएको सल्लाह अनुसार म ठुलो खतरामा नभएको तर मलाइ हेल्थ पोस्टमै भए पानी केही समय आराम र नियमित उपचार गराउनु पर्ने भए पछी मेरी बाल संगिनी अन्जलीलाई बल्ल घरमा खबर गर्ने कुराको होस आएछ ! मेरो घरमा फोन गरेर सम्पूर्ण अवस्थाको जानकारी दिए पछी जति सुकै फोनमा ठिक छ भने पनि मन थाम्न नसकेर आमा तत्कालै मनकामना तर्फ लाग्नु भएछ ! ममी साँझ चार बजेतीर मनकामना हेल्थ पोस्ट पुग्दा वहाँका आँखा रुवाईले सुन्निएको मैले देख्ना साथ बुझें !मलाइ राखिएको कोठा भित्र पस्ना साथ वहांले फेरी आफुलाई रोक्न सक्नु भएन !अनि फेरी रुन थाल्नु भयो !
ममी आएपछि मेरो ग्रुपमा आएका सबै साथिहरुको अनुहारमा चमक आयो !बिचरीहरुलाई शायद चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझै भएको हुदो हो ! !मनकामना दर्शन पनि गर्ने ,हास खेल रमाइलो गरेर पिकनिक पनि मनाउने सुर कसेर आएका सबैको आजको पूरा दिन तनाब मै बित्यो होला !मेरी निकटतम साथी र बालसखा समेत रहेकी अन्जली बाहेक अरुसबै मेरो शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एक एक गर्दै त्यहाँ बाट बिदा भए ,घर फर्कन !
घरमा फोन गरेर सबैकुराको जानकारी दिउसै दिईसकेकी अन्जलीले भने ममीको अवस्था देखेर उल्टै वहांलाई शान्त्वना दिन लागि ! ममी लाइ सम्हाल्दै उसले भनि आन्टी पीर नगरिबक्स्योस !अब त दुर्घटना टरेकोमा हामी खुसी हुनु पर्ने बेला भएको छ !
त्यो अप्रात्यसित र अविस्मरणीय दुर्घटना बाट बौरेर मेरो होस पूरा खुलेपछि मलाइ जीवनको क्षणभंगुरता र महत्व दुबैको बारेमा अत्यन्त ठुलो ज्ञान प्राप्त भए जस्तो लाग्यो !अन्जलीले मेरो खाटको छेउमा बसेर मलाइ मेरो होस पुरै हराउदा र राम्रो संग ठेगानमा नहुदाको समयको एक एक विवरण बताई सकेकी थिई !जीवन र मृत्युले त्यति नजिकैबाट मुखा मुख गरेको त्यस्तो क्षण यथार्थको कुरै छोडौ, मेरो कल्पनामा समेत कहिल्यै आएको थिएन !