प्रतिनिधि कथा ……………………………………………………………………………………………….१२

मनकामना माताले मेरी छोरीको जीवन रक्षा गर्नुभो ! मैले बिहान बेलुका मेरा सन्तानको रच्छे गर्न इश्वरलाई गरेको प्रार्थनाको फल मैले पाएँ ! भगवती माता साक्षात त्यो मान्छेको रुपमा प्रकट भएर मेरी छोरी ,मेरो मुटुको टुक्राको रक्षा गर्नु भो !यो पवित्र देउथलमा नभएर अन्तै कतै यो दुर्घटना भएको भए के हुन्थ्यो होला आज !मेरो श्रद्धामा मेरो पूजामा कुनै दिन कुनै कमी रहेको भए क्षमा गर हे माता !जगत जननी !ममी यसरी पुकारा गर्दै झन डांको छोडेर रुन लाग्नु भो !

म प्रतिको लगाव देखेर मलाइ ममीप्रति मेरो मनमा  श्रद्धा बढेको अनुभव भयो ! तर अर्को तिर मलाइ वहांको प्रार्थनाका शब्दहरु पचाउन सार्है गार्हो पनि भैरहेको थियो !म सोच्दै थिएँ – अज्ञानताले कति निरिह बनाउछ मान्छेलाई !यौटा ठुलो संजोगले मेरो जीवन बच्यो !ममी मन्दिर भित्रको मुर्तिलाई त्यसको जस दिदै हुनुहुन्छ !मलाइ अलिकति दिक्क पनि लाग्यो ! आमा संग अरुबेला भएको भए म तत्काल त्यो कुराको कडा प्रतिबाद गरी सक्थें होला !अहिले मैले सोचें -छोडी दिउँ वहांलाई !आफ्नै तरीकाले चित्त बुझोस वहांको !

तर दिउसोको सम्पूर्ण घटनामा जस   पुरस्कार   जे पाउने हो त्यो पाउनु पर्ने त्यसको अधिकारी  मलाई बचाउने  मान्छेको चर्चा नभएर अदृश्य शक्ति जसको अस्तित्वकै कुनै प्रमाण छैन , त्यसै प्रति कृतज्ञता जनाईरहेको मलाइ  ठ्याक्कै चित्त बुझेको थिएन !”लंका तर्ने हनुमान जस पाउने ढेडु “भन्ने उखान जस्तै भै रहेको थियो यहाँ त !

उता अन्जलीको पनि यत्रो बेरको धैर्यको बाँध फुटेछ !बल्ल उसले त्यसको लागि आफ्नो मनले खाएको साथि पाई !आमासँग अंगालो मारेर आँखा बाट बलिन्द्र धारा आँसु खसाउदै मनको बह खोली- आन्टी  आज ठुलो दुर्घटना टर्यो !नत्र आज म हजुरलाई के जवाफ दिन्थें होला !मनकामना माताको कृपा नभएको भए, वहाँले त्यो मान्छेलाई ठिक समयमा ठिक ठाउँमा नपठाउनु भएको भए !कत्रो लीला माताको ?  समझदा पनि आंग जिरिंग हुन्छ !उ पनि  सुक्क सुक्क गरेर रुन थाली !

मेरो मन यो अन्याय खप्न नसकेर व्यथित हुदै तर्क गर्दै थियो –  आकाश बाट खसेर जमिनमा पछारिनु अघिनै  मलाइ आफ्ना  हातमा समेटने त्यो मान्छे त्यसै क्षण त्यहि ठाउँमा नपुगेको भए ? त्यो  मान्छेले मलाइ  बचाउन कुनै प्रयास नगरेको भए ?  मनकामना मन्दिर भित्र रहेको ढुंगाको मूर्ती मात्र यथेष्ट हुन्थ्यो मेरो  जीवन रक्षाको लागी ? मेरो जीवन रक्षाको कारक त त्यो व्यक्ति  हो !उसकै दान हो मेरो यो  एक किसिमको  पुनर्जीवन !अहिले त्यो मान्छे त्यहा नपुगेर अथवा उसको प्रयासले नपुगेर मेरो जीवन रक्षा नभएको भए के मनकामना लाइ जान्थ्यो त्यसको दोष ?शायद अहिले पुर्व जन्मको पुण्यले यस्तो पवित्र भूमीमा प्राण त्याग गर्न पाउने भाग्यमानीमा गणना भैसक्थ्यो होला मेरो ?त्यसो भए चित पनि उसैको पट पनि उसैको ! यो कस्तो न्याय हो ?त्यो मान्छेलाई मन्दिरकै मूर्तीले   पठाएको    भन्ने सम्म कुरा भैरहेछ !ममीले पनि अघि एक पटक त्यसै  भन्दै प्रार्थना गरेर धन्यबाद दिनु भो पत्थरको भगवानलाई  अहिले अन्जली जति पढे लेखेकी केटि पनि त्यसै भन्दै छ  !  पत्थरको भगवान ,जसको न कुनै चेतना छ ,न आँखा न कान !न त्यसले महसूस गर्न सक्छ !न अराउने  बोलि छ !त्यसैले पाइरहेछ सबै जस !यो क्यै होइन मान्छेले आफु जस्तै अर्को मान्छेलाई मान्न नचाहेर इश्वरको अड्को थापेको हो !नत्र आँखाले मान्छेले काम गरेको देख्दा देख्दै किन जस दिन्छ इश्वरलाई ,जसको अस्तित्व केवल नाममा मात्र सिमित छ !

मलाइ  अहिलेसम्म  त्यो मान्छे   को हो ,कस्तो थियो,  अनि कुन  अभिप्रायले प्रेरित भएर उसले त्यस्तो  सिनेमा र कथाहरुमा मात्र देखिने अनि सुनिने साहसिक र रोमान्चक कार्यको माध्यमबाट मेरो जीवन रक्षा गर्यो  भन्ने केहि पनि थाहा छैन !  अन्जलीको भनाइ अनुसार  सयौं हजारौं मानिस  मृत्युको मुखबाट फर्केकी मलाइ  हेर्न , पूनर्जन्म पाए जस्तो भएर फर्किएर आएकी  युवतीको  निकट एक क्षण भए पनि बिताउन ,अनि कैयौं आस्तिक श्रद्धालुहरू मनकामना भगवतीको लीलाको आफ्नै आँखाले दर्शन गर्न भन्दै दिन भरी मन्दिरबाट हेल्थ पोस्ट तिर आइरहे रे ग्वार ग्वार,कतिले त फूल अक्षताले पूजा गरेर भेटी सम्म चढाउन खोजेका थिए रे मलाइ, मेरो पुर्बजन्मको कर्म राम्रो भएर देवीले बचाएकी अर्की देवी भनेर !हेल्थ पोस्टका इन्चार्जको आदेशमा त्यहाका स्टाफले भित्र छिरेर त्यसो गर्न  रोक्दा कति त रिसाए पनि रे !धन्य मान्छेको उल्टो बुद्धि त्यो पूजा र भेटि त मलाइ होइन खोजी खोजी त्यो पराक्रमी परोपकारी लाइ चढाउनु पर्ने हो भन्ने उनीहरुलाई थाहा नभएकै हो त ,या बुझेर बुझ पचाएको हो ?  !

त्यो  व्यक्ति भने आफ्नो पुरुषार्थको कारणबाट सम्भव भएको यत्रो चमत्कार लाइ फलिभूत भएको हेर्न ,आफुले सम्भव बनाएको जीवन रक्षाको घटनाको जस लिन एक पटक पनि फर्केर आएको छैन !मलाइ त्यो व्यक्तिसंग पनि थुप्रै गुनासो भएको एक्कासी महसूस भयो !अहिले सम्म म एक थरी अतिवादीको आलोचना गर्ने सुरमा यो अर्को अतिवादीका  गुण मात्र देखी रहेकी थिए !अब म यसका पनि बैगुनहरु गन्न तम्सिएँ !उसको उपकार प्रति कृतज्ञ त म छदैछु !तर त्यसो भनेर मैले उसको बानी व्यहोराको अन्ध प्रसंसा गर्ने ठेक्का त लिएकी छैन अर्का थरी जस्तो !

मलाइ एक्कासी त्यो ढीठ युवकको घमण्डी स्वभाव प्रति बितृष्णा जागेर आयो ! उसलाई शायद गर्व होला उसको पुरुषार्थले त्यत्रो  चर्चित घटना सफल भएकोमा !शायद त्यसैको घमण्डले चुर भएर कुनै अर्को दिन आफ्नो त्यो अद्भुत सामर्थ्यको धाक लगाएर त्यसको पुरस्कार लिने तैयारीमा आफ्ना साथीहरुमाझ गफ छाट्दै बियर खाएर कतै बसेको होला !त्यस्तै त हुन्छन नि  पुरुषहरु !आफ्ना अवगुणहरुलाई गुण बनाएर आफ्नो महत्व बढाउदै हिड्ने  लोग्नेमान्छेलाई यत्रो ठुलो भिडको अगाडी हिरो हुन पाए पछी अरु के नै चाहियो होला र आफुलाई संसारको सर्वश्रेष्ठ मानवको दावी गर्न ! त्यसैले उसलाई अधिकार छैन अर्को कुनै दिन अर्को कुनै ठाउमा निच्च दांत देखाउदै यो भन्न कि त्यो दिन तपाइलाई मृत्युको मुखबाट बचाउने  पुरुषार्थी मै हु !जसले प्रारब्ध संग लडेर तपाइलाई अहिले बाचिरखेका जीवनका दिनहरु बाच्न योग्य बनायो !
मलाइ फेरी एक्कासी लाग्यो -आफ्नो प्राण रक्षा गर्ने ,आफ्नो जीवन खतरामा राखेर त्यत्रो ठुलो दुर्घटना लाइ टार्ने कारण बन्न तयार हुने यौटा कर्तव्यनिष्ठ  मानिस प्रति उ अलि बढिनै निर्मम हुदै छ !उसले उ प्रति कुनै नकारात्मक सोच राख्नु जरुरी पनि छैन !उसले आफ्नो सत्कार्यको बदलामा उ संग केहि मागेको पानी छैन !जब सम्म त्यसको बदलामा उसले केही माग गर्ने दुस्साहस गर्दैन ,तबसम्म उ मेरो जीवनको यो अभूतपूर्व अध्यायको  यौटा महत्वपूर्ण र सम्मान योग्य पात्र हो !त्यो भन्दा न कम ,न बेसी !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s