सन्ध्या भजन आरतीको कार्यक्रम सुरु हुन झन्डै अर्को बिस मिनेट जति लाग्यो !दर्शन को कार्यक्रम सकेपछि हामी मन्दिरको अगाडिको चौतारीमा बसेर प्रतिक्षा गर्दै गर्दा नजिकैका लज होटेल र माथि तलका गाउँबाट पनि प्रशस्त मानिसहरु न्याना कपडाले आफुलाई सुरक्षित पार्दै त्यस कार्यक्रमका लागि जम्मा भए !हेर्दा हेर्दै त्यहा २० मिनेट अगाडिको भन्दा बेग्लै वातावरण तैयार भयो ! नपत्याउने किसिमले श्रद्धालुहरुको जमघट हुदा २० मिनेट अगाडी त्यहा हामी तीनजना मात्रै थियौं भन्ने कुरा असत्य जस्तो लाग्न थाल्यो ! मन्दीरको अगाडिको बरन्डामा बाद्ययन्त्र ल्याएर पेट्रोम्याक्स बाले पछी मन्दिरको वातावरण थप रमणीय भयो ! यस अघि कुनै देवस्थलमा रात बस्दै गएको कुनै अनुभव नभएको कारणले पनि होला जाडोको पर्वाह नगरी यति धेरै भक्तहरु जम्मा भएको र आफु पनि त्यस वातावरणमा सम्मिलित रहेको यो अनुभव मेरो लागि नितान्त नौलो थियो ! खासगरी आज दिउँसोको त्यस कहालीलाग्दो घटना पछी उत्पन्न तनावले भरिएको दिनको पटाक्षेप यस्तो नौलो र शान्त वातावरणमा हुन लागेकोमा म पनि प्रसन्न नै थिएँ !
एक्कासी मन्दिरको शान्त परिवेशमा यौटा अनौठो हलचल सुरु भएजस्तो मलाइ आभास भयो ,यद्यपि उपस्थित श्रद्धालु भक्त हरु हामी जस्तै रहस्य पूर्ण कौतुहलका साथ पूर्ण रूपमा शान्त र अनुशासित भएर बसीरहेका थिए ! यो हलचल के को थियो त्यसको मेसो पाउन समय लाग्यो तर वायुमा उत्पन्न यौटा हलुका लयबद्ध कम्पनबाट यसको सुरुवात भएको अनुभूती भने मलाई तत्काल भयो ! शरीरका रोम रोमलाई पुलकीत गराईदिने त्यो लयबद्ध कम्पनले शरीरको बाहिरी वातावरण भन्दा भित्रि वातावरणलाइ तरंगीत गरेर एक किसिमको आनन्दको उन्माद उत्पन्न गरे जस्तो महसूस हुन थाल्यो ! एकै छिनमा स्वर र संगीतको यौटा रोमान्चक समन्वयले त्यो हलचल अनुभव गराउने तरंग पैदा गरेको स्पष्ट भएपछी संगीतकी अव्वल स्तरकी विद्यार्थी भएको गर्व गर्न पछी नपर्ने मलाइ संगीतको तरंगको रोम हर्षक प्रभाव लाइ आत्मसात गर्न यत्रो समय लागेकोमा म एक पटक लाजले आफैं भित्र खुम्चिएं !
सुरुको केहि क्षण म यसरि झुक्कीनुको कारण थियो !अगाडिको मन्चबाट कुनै नसोचेको दृश्य संवेग आफ्नो सम्पूर्ण उचाई साथ एकै पटक प्रकट हुने मेरो अपेक्षा थियो !तर दृश्यको भन्दा बढी प्रभाव बोकेको संवेग कानको माध्यमबाट प्रवेश गरेर मेरो आन्तरिक वातावरणलाइ नसोचेको तरीकाले तरंगित गर्दा म अल्मलिएकी रहेछु !मेरो कल्पनैमा थिएन की अगाडी बसेका पात्र हरुमध्ये कसैमा पनि संगीतको माध्यमबाट यस्तो प्रभाव सृजना गर्ने साधन र गुण छ ! सम्पूर्ण मन र प्राणलाई आल्हादित गर्न सक्ने त्यो संवेग आएको दिशा तिर मेरा आँखाले पछ्याए !अघि मन्दिर भित्र पूजारी संग बसेर इश्वरीय प्रस्तर प्रतिमाहरुलाई सफा गरिरहेको मेरी ममिका बिनम्र प्रश्नहरुलाइ विनम्रै ढंगले निरुत्तर हुने गरी उत्तर दिने जिरे खोर्सानी जस्तो त्यो अग्लो ख्याउटे युवक अहिले बाँसुरी र तबला मा मिठा धुनहरु बजाउदै अत्यन्त मिठो र मन्त्र मुग्ध गर्ने स्वरमा भजन गाउदै थियो !
मन्दिर भित्र पूजारीले थुप्रै दीप प्रज्वलीत भएको पालामा आरति लाइ यौटा निश्चित वृत्तमा घुमाइरहदा ढोका बाहिर अघि विभत्स देखिएका उसका सेता दन्त पंक्तिहरु अहिले किन हो सुर्योदयको बेला सुनौलो चमक लिएर हासेको हिमाल जस्ता लाग्यो मलाइ !उसका शब्दहरुमा जति परमात्मा को शक्तिरूपको मुक्त प्रसंसा थियो त्यो भन्दा उज्ज्यालो र स्वच्छ भक्तिरसको प्रकाश उसको स्वरमा देख्न पाइन्थ्यो !स्वर पनि यसरी प्रष्ट हासेको देख्न सकिदो रहेछ जसरी अहिले म देख्दै थिएँ ! यो के भै रहेथ्यो मलाइ, मिठो भन्दा मिठो स्वरको श्रुतीको अनुभव मलाइ थियो तर स्वर को दर्शनको अनुभव यो मेरो पहिलो थियो जुन म आज अनुभूत गर्दै थिएँ ! मनकामना मन्दिरको अगाडिको चौतारीमा जाडोको यो सन्ध्यामा अघि टल्किने कालो रोगनमा अशोभनिय देखिएको त्यो कृशकाय युवकको रुप उसको स्वरको उज्ज्यालोमा अब बिस्तारै सुन्दरबाट सुन्दरतम हुदै गएको देखेर मुग्ध हुदै थिएँ म !
स्वरमा भएको मधुर कम्पनले पनि त्वचामा अनौठो काउकुती लगाउन सक्दोरहेछ अहिले मात्र थाहा भयो मलाइ !मधुर भन्दा मधुर कर्णप्रिय स्वर र संगीतले शरीरका रौँ समेत ठाडो पारेको अनुभव म संग थियो तर त्वचाका संबेदनशील चेतना ग्रहण गर्ने मर्म स्थलहरुलाई पुलकीत गर्दै स्वरले पीडा ,मिठास र नसाको उन्माद मिस्रित अनुभूती युक्त काउकुती लगाएको यो मेरो पहिलो अनुभव थियो !त्यो काउकुतिलाई महसूस गरेर लट्ठ हुदै थिए म !
उसको आँखामा अहिले एक किसिमको अनौठो चमक थियो ! अनि तिनमा पारदर्शी रूपमा वारपार हेर्न सक्ने एक्स रे जस्तो हेराइको थेग्न नसकिने उन्माद थियो !त्यो उन्मादमा जलन थिएन ,विनम्र शितलता थियो ! उसको स्वर संगै निखारीदै गएको व्यक्तित्वले म सम्मोहित भएकी थिएँ र मेरा आँखाहरु उसको आँखाको चमक भित्र स्थिर भएर एकाकार हुदै थिए !क्षण क्षण उ भित्रको भक्तिको स्वाद उसको आँखाबाट निस्केर बाण जस्तो सिधा मेरा आँखा भित्र प्रवेश गर्थ्यो र मेरो जिव्हालाई त्यसको रसले भिजाएर निथ्रुक्क पार्थ्यो,अनि त्यसको अनुभूतीको स्वाद मेरो जिव्हामा अमेट छाप छोड्ने गरी बस्थ्यो !कर्णप्रिय लय सुर र वाणी को मीठो तरंगले मस्तिष्कको सोचको मिठास बढाएको मेरो अनुभव थियो तर जिब्रोले स्वरलाई अनुभूत गरेको यो मेरो पहिलो अनुभव थियो ! जसलाई चाखेर आल्हादित हुदै थिएँ म !
उस्को सुरको उतारचढाव संगै वायुमा तल माथि गरेर उड्ने लयको सुवास मेरा नासिका बाट प्रवेश गरेर मलाइ मस्त पार्दै थियो ! मिठो धूनले वातावरणमा व्याप्त दुर्गन्धको प्रभावलाई निस्तेज पारी दिएको मेरो अनुभव थियो ! तर नाकले संगीतको सुगन्ध महसूस गरेको यो मेरो पहिलो अनुभव थियो !जसको सुगन्धले मदहोस हुदै थिएँ म !