स्काइप मा आइस्योस न स्काइपमा …..कस्तो फोनमा पैसा खर्च गर्न मन लागेको ! उताबाट शकुन्तलाको झर्केर कराएको आवाज आयो !
हुन्छ !हुन्छ !!फोन राखेर आइहालें ! ५ मिनेट स्काइप सेट गर्न पनि टाइम लाग्छ नि ! फेरी आत्तिएर आफैं उताबाट फोन नगर्नु ! निरंजनले हाँस्दै कम्प्युटर तिर हात बढायो !
एक छिन पछी निरन्जन कम्प्युटरको स्क्रिनमा शकुन्तलासंग प्रत्यक्ष अनुहार हेरी हेरी कुरा गर्दै थियो !दिनभरी घरमै बस्ने गरेको छ कि गाउँ डुल्दै ? शकुन्तलाले अपराधीलाई पुलिसले केरे जस्तै गरी केरकार गर्न थाली !
किन बस्नु घर? घरमा को छ र ? तिन महिनाको लागि भनेर गएकी मान्छे ,तिन महिना १० दिन भैसक्यो !कहिले आउने घर ? निरंजनले रुंला जस्तो गर्दै प्रश्न गर्यो !
खाना बनाउने ,लुगा धुने ,अराई पराई गर्ने सबै थरी मान्छे घरमा छदैछन ! मैले यता आउने बेलामा नैनालाइ हजुरको सानो ठुलो सबै सारो गारो याद गर्नु है ,साबलाइ तैंले चिनेकै छस ! आफ्नो ख्याल आफैं राख्न सकिसिन्न भनेर राम्ररी सम्झाएकी छु ! अब हजुरलाई म जहिले आए पनि के मतलब ! बरु यहाँ त्यो सानो नाती बिचरा,म नभए के हुन्थ्यो होला त्यसको हाल ? बाबु आमाले बच्चा एक छिन हातमा लियो भने रून थालि हाल्छ ! यत्रो बच्चाले पनि कसरी चिनेको यो अनुभवी र यो सिकारु भनेर ?
अनि तिमि कहिले आउने त घर ? निरन्जन सानो बच्चाले आमालाई सोधे जस्तै गरेर न्यास्रियेर सोध्यो !
यो पनि घरै त हो नि ! छोराको घर कसको घर त ? छोरालाई दिनभरी कामलेनै फुर्सद हुदैन ! अमेरिकामा सुख छ ,सुख छ भनेको के को हुन्थ्यो सुख ? कुइरे मोराहरुले इमान्दार नेपालीलाई पाएर दल्दा रहेछन दिन रात ! दिन भरी काम गरेर आए पछी आमाले पकाएको तातो खान पाउँछ म यहाँ भए ! बुहारी बिचरा त्यसै त यत्रो सानो जिउ परेकी ! त्यसमाथि सुत्केरीबाट तंग्रेकै छैन ! एक चोटी फेरी औसधि बनाएर खान दिउँ भनेको भ्याएकै छैन ! म त सानो बाबुको पास्नी नसकी आउन गार्है होला ! के गर्नु त यस्तो हरिबिजोक ………….
जे मन लाग्छ त्यहि गर !…. रिसले निरन्जन च्यांठियो !नरिसाईस्योस न कुरै नबुझी ! हेर, लोग्ने मान्छेलाई आफु बाहेक अरु कसैको माया हुदैन भनेको साँच्चै रहेछ ! यो तिन महिनाको नाती भन्दा सानो भएर के च्याठिएको त्यस्तो ? हेरिस्यो बरु नातिलाई एक पटक राम्रोसंग ! काटीकुटी हजुर जस्तै छ ! अँ साँची नैनालाई बोलाइस्योस त त्यहाँ ! मलाइ केहि कुरा अराउनु छ उसलाई !….. शकुन्तला अलि रहस्यमय तरिकाले मुस्काउदै बोली !
नैना ……नैना …..निरन्जन भान्छा तिर हेरेर चिच्यायो ! भान्छाबाट यौटी लगभग ३० बर्ष जतिकी सादा लुगा लगाएकी सृंगार नगरेकी युवति हात पुछ्दै निस्किई !
ल कुरा गर तिम्री साहेबनी संग …. निरंजनले कम्प्युटरतिर देखाउंदै भन्यो !
युवति निरंजनको ठिक पछाडी सम्म आएर कम्प्युटर तिर निहुरेर हेर्दै भन्दै थिई ….आमै साहेबनी टि भीमा जस्तै !
दर्शन साहेबनी …….हात निधारसम्मै पुर्याएर लाज मानेको स्वरमा नैना दर्शन गर्न लागि !हजुर एक छिन त्यहाँबाट हटीस्योस ! घर ब्यबहारको कुरो सम्झाउनु छ !…………शकुन्तला फेरी एकपटक मन्दमुस्कानका साथ कम्प्युटरको स्क्रिनभरी फैलिई !
जेसुकै सम्झाउ ! गएँ म त बाहिरतिर ………….निरन्जन फंकिंदै त्यहाँबाट उठ्यो !