बिस बर्ष पनि नपुग्दै बिबाह भएदेखिनै शकुन्तला र उ बिचको सम्बन्ध पति पत्नी भन्दा दौतरी जस्तो बढी देखिन्थ्यो ! शायद एक अर्काको मनको कुरा बुझ्ने र आफ्नो भन्दा अर्काको हितको बढी वास्ता गर्ने भएर होला दुबैलाई अर्को बिना आफ्नो अस्तित्वनै अधुरोजस्तो लाग्थ्यो ! त्यसैले छोराको अनुरोधमा बच्चा पाउन लागेकी बुहारीको हेर देख गर्न शकुन्तला अमेरिका जानु अघि उनीहरु बिचमा प्रसस्त छलफल भयो !एकातिर तराइको खेतिपाति उठाउने बेला र अमेरिका जाने बेला एकैपटक परेको र आर्कोतिर यस्तो समयमा बुहारीलाई ससुरा भन्दा सासुको आवस्यकता बढी हुने भएकोले शकुन्तलालेनै जानु पर्ने कुरामा बिबाद हुने ठाउँ थिएन ! तर दुबैलाई एक अर्कासंग छुट्टिएर बस्ने बानी नभएकोले छोटो समय बसेर फर्किहाल्ने शर्तमा दुबैले एक अर्कासंग छुट्टी लिएका थिए !भिसाको लागि दरखास्त दिन अमेरिकी दुतावास जानुभन्दा अघिल्लो दिन दुबैको लामो छलफल भएको थियो यो बिषयमा !
दुवै जना संगै जानु पर्यो क्यार !यसपालिको बालीनाली मोहीहरुलाइनै बेच भनेर पछि आएर उठाउनु पर्ला -निरंजनले अन्तिम अस्त्रको रूपमा आफ्नो प्रस्ताव राख्यो !
आजकालका मोहीले हजुरलाई पहिलेजस्तो खुरुक्क बालीको हिसाब किताब पछि हजुरलाई दिन्छन भन्ने बिश्वास गर्नु बिरालोले दुध सापटी लगेर फिर्ता गर्छ भन्नु जस्तै हो ! उताबाट फर्किएपछि केहि खानु पर्दैन ,खर्च वर्च गर्नु पर्दैन भने कुरा अर्कै हो !कस्तो हजुरलाई पनि बेला बेलामा ब्यबहार नजानेको केटाकेटी जस्तो कुरा गर्न मन लागेको ! एक डेढ महिना त हजुरलाई कमसेकम तराइमै लाग्छ ! त्यहाबाट फर्केपछि एक डेढ महिनाको कुरा त हो नी ! छोरा छोरीले सहारा माँगेको बेला पनि हामीले आफ्नै स्वार्थ मात्र बिचार गरेर उनीहरुलाई अप्ठ्यारोमा पार्न सुहाउछ ? बच्चालाई सम्झाए जस्तै सम्झाउदै शकुन्तलाले भनी !
के गर्नु त ? एक डेढ महिना त के एक डेढ दिन पनि मलाइ एक्लै बस्न गार्हो हुन्छ भन्ने तिमीलाई थाहै छ ! मलाइ न एक कप चिया पकाएर खान आउँछ न आफ्नो बिछ्यौना आफैं मिलाउन आउँछ ! त्यत्रो लामो समय एक्लै कसरी बिताउनु ? निरंजनले लाडे पल्टिदै भन्यो !
हजुरलाई पकाएर खान दिने , घरका अन्य सबै काम काज गरीदिने यौटा पक्का मान्छे मैले तराइमै खोजी वरी ठिक्क पारिदिएकिछु,फोन बाटै !तराईबाट फर्किदा काठमाडौँ पनि हजुर्संगे ल्याइसेला ! म फर्किएपछि पनि काम लाग्छे ! अब उमेर संगै म पनि एक्लै पहिले जस्तो एक्लै खट्न नसक्ने भएको आफैलाई अनुभव हुदैछ ! त्यस्तो एक जना मान्छेको आवस्यकता आफै पनि केहि समय देखि महसूस गर्न थालेकी छु ! हजुरलाई नभनेको मात्रै !
को त्यस्तो तिम्रो जस्तै यो घर र मेरो ख्याल राख्न सक्ने ?
त्यै तराइ गएको बेलामा मलाइ सघाउने नैना भन्ने केटि छ नी ! त्यै क्या त नहरछेउको खेत कमाउने मोही आसारामकी छोरी !
एए त्यस्ती फुच्चीले यत्रो घर सम्हाल्ने ? वाहियात कुरा नगर न ! बरु म एक्लै मिलाउँला नि आफ्नो ब्यबस्था ! यतिका साथि भाइ छन् ! त्यस्तो कुरा गर्ने हो भने त……………….!
के को फुच्च्ची हुन्छे नि ! २२ ,२३ वर्षकी भैसकी ! मलाइ वहाँ जाँदा ४ ,५ वर्ष देखि त्यसैले त सघाउथी नि ! म पनि उसैलाई तालिम गर्थें ! यस्तै पर्दा आफुलाई सहयोग गर्ने मान्छेको जरुरत पर्न सक्छ भनेर !
उसको बाबुलाई हिजै टेलिफोनमा मैले उसको राम्रो ठाउँमा बिहा गराइदिएर घरजम गराइदिने सम्मको
जिम्मा लिएर मनाइसकेकि छु !
आइमाइलाइ कसले भेट्छ यसरी आफ्नै सुरले आकाश पाताल जोड्न ! तिम्रो र मेरो साथको कमीलाई त्यै असारामकी छोरीले मेटाउन सक्छे त ?
किन सक्दिन ? हेर्दै गरिस्योस न ! ! घरबारको कुरा आइमाइलेनै मिलाउने हो ! हामीलाईनै थाहा हुन्छ अनुभवले कहाँ कतिखेर के जरूरी छ भनेर !
पोहोरसाल पनि मेरो रेख देखमा उसैले पकाएर ख्वाएकी हो हामीलाई हामी तराइ बसुन्जेल ! अरु सफा सुघ्घर गर्ने घरको ब्यबस्था मिलाउने,हाम्रो घरका अनि हजुरका बानी बेहोरा अनुसारका आबस्यक्ताका सबै कुरा उसलाई राम्ररी सिकाएकी छु मैले ! शकुन्तलाले गहिरो रहस्य खोले जस्तो गरेर गर्व साथ आफ्नो घर ब्यबहार ब्यबस्थापनको रहस्य बताउदै प्रश्न राखी …..अब के ले हजुरलाई म नभएर फरक पर्छ त ?
त्यत्ति हो तिमि र मलाइ एक आर्कसंग हुदा ,नहुदा फरक पर्ने कुरा ……………………………………………? निरंजनले बच्चाले आमासँग आफ्नो प्रश्नको उत्तर मांगे झैं गरेर शकुन्तलाका आँखा संग आँखा जुधायो !
अरु त त्यसै पनि मेरो महिनाबारी बन्द हुनु भन्दा केहि अगाडी देखिने न म पहिले उमेरमा हजुरले चाहे जस्ती छु ! न हजुर्नै पहिले जस्तो मेरो लागि मरिहत्ते गरिसिन्छ ! यस बारेमा कहिलेकाहीं हजुरकै मुखबाट पनि पहिले जस्तो यो भएन र त्यो मिलेन भनेर बारम्बार सुन्नु परेकै छ मैले ! अनि समयसंगै आफुमा आएको कमजोरीको कारण हजुर बदलेको म आफैंले पनि महसूस गरेकिछु ! सबै कुराको आफ्नै समय हुन्छ भनेको त्यसै भएर होला !……….आँखाको डिलसम्म आंसू छचल्काउदै शकुन्तलाले लामो निश्वास छोडी !
निरंजनको पनि मन भारि भएर आयो ! तिन दशकको परिचय र बैबाहिक जीवनमा उसले शकुन्तला भन्दा अर्की कुनै महिलाको कहिल्यै कल्पना सम्म पनि गर्नु परेन ! शकुन्तलाले जति माया र त्यागका साथ उसको जतन गरेर जवानीबाट प्रौढ अवस्थाको यो खुड्किलोसम्म उसलाई डोर्याएर ल्याई त्यति शायद बाल्यकालको बेहोसी र किशोरअवस्थाको मद्होसीको कारणले आमाको प्रेममा पनि महसूस नगरेको जस्तो कहिलेकाहीं उसलाई लाग्छ !
धत् लाटी म के भन्छु ,उ के बुझ्छे ? मैले त्यस्तो कुरा गरेको हो र ? माया भन्दा ठुलो अरु केहि छ ? मलाइ तिम्रो माया भए पुग्छ ! अरु केहि खोजेको छैन मैले ! म त त्यै कुरा गरीरहेको ! तिम्रो मायाको ठाउँ अरु केहीले लिन सक्दैन !मैले भन्न खोजेको त त्यो पो हो त ! निरंजनले भावुक भएर शकुन्तलाको हात पक्डेर आफूतिर तान्यो !
घरबारको , परिवारको ब्यबस्थापन र सुरक्षाको कुरा गर्दा लोग्ने मान्छेले केटा केटि जस्तो उडन्ते भावना देखाए पुग्छ ! घर भनेको स्वास्नीमान्छेको हो ! स्वास्नी मान्छेले आफु चोइटा चोइटा भएर सबैको भागमा बाँडिएर आफ्नो थाल खाली राखेर भए पनि कसैलाई दुखि हुन् दिनु हुदैन ! हजुरको घर पठाउन अन्भाउने बेलामा आमाले मलाइ भनेको यो भनाइको अर्थ बेला बेलामा म बिभिन्न रुपमा बुझ्छु ! शकुन्तलाको घांटीसम्म आएका ई शब्द उसको मुखसम्म नपुगी छाती तिरै फर्के ! निरंजनको छातीमा टाउको अड्याएर उसले आँखा चिम्लेर निदाउने प्रयत्न गरी !