म मेरो अन्तस्करण आज पहिलो पटक कसैलाई खोलेर देखाउने प्रयास गर्दैछु !शायद यो पनि पहिलोपटक होला कि म आफ्नै मन संग आफैं कुरा गर्न डराएको बिषयलाई अरु कसैको सामु स्पष्ट पार्न कोशिश गर्दैछु !कति हदसम्म आफ्नो कुरा छर्लंग बुझाउन सकौंला त्यो म स्वयम्लाई थाहा छैन ! मेरो पूरा कुरा सुनेपछि तिमीलाई लाग्न सक्नेछ मैले तिमीलाई ठुलो र असामान्य धोका दिएको छु ! साथसाथै मैले तिम्रो नारीत्व र अस्मिताको अपमान मात्र गरेको होइन त्यसलाई क्षत विक्षत पनि पारेको छु ! तिमीले म जस्तो यौटा छद्म्भेशधारी पाखण्डीको नकाब खुलेको पनि महसूस गर्न सकौली ! म तिमीलाई त्यसको लागि दोष दिन्न ,कारण मलाइ थाहा छ तिम्रो ठाउमा म भएको भए पनि त्यस्तै महसूस गर्ने थिएँ ! मेरो स्पष्टोक्तिलाई तिमीले आफ्नो पाखण्डको नकाब उत्रिसकेपछि पनि लाज पचाएर आफुलाई भलाद्मी साबित गर्न प्रयाश गरीरहेको यौटा नकच्चरोको झुठो प्रलापको रूपमा लिए पनि मलाइ आपत्ति छैन ! कारण म जे लेख्दैछु त्यो मेरो सत्य हो ! आज साहस गरेर मैले म आफैंले पहिले सत्यको दर्शन गरेर त्यसको जस्ताको तस्तै विवरण तिमिसामु प्रस्तुत गर्ने कोशिश र ध्रिस्टता गर्दैछु ! तिमि बिश्वास गर या नगर यो मेरो कथा मेरो आत्मकथा पनि हो अनि मेरो व्यक्तित्वमाथि प्रभाव पारेर बसेको र म आफैंले पनि राम्ररी चिन्न नसकेको असाधारण प्रकृतिको बारेमा जन्म दिने बा- आमासँग पनि छलफल गर्न नसकेको यथार्थ हो !मैले आफुले आफुलाई चिनी सकेपछि यसको जानकारी पाउनु पर्ने सबैभन्दा सरोकारवाला र उचित व्यक्ति तिमि भएको महसूस गरेर मैले यो रहस्य तिमिसंगे खोल्दैछु ! यो कुरा सुनेपछि तिमीले मलाइ के भन्ठान्छ्यौ भन्नेकुरा यतिखेर मेरो प्राथमिकता रहेको छैन तिमीलाई मेरो सम्पूर्ण अनुभव र कहाँ कहाँ मेरो त्यो अनुभवले तिम्रो मेरो बिचको सम्बन्धलाई प्रभावित गरेको छ त्यो बुझाउन सक्नु मेरो पहिलो प्राथमिकतामा परेको तिमि म संग रिसाए रिसाउ तर कृपया मेरो आउँदो वाक्यबाट आहत नहोउ भन्ने मेरो इश्वरसंग प्रार्थना छ !
तिमिसंग बिबाह गर्न म पटक्कै उत्सुक थिईन ! त्यो भन्दा पनि ठुलो सत्य त २५ बर्षको लाठे तन्नेरी भनेर टोल छिमेकमा कहलिएको म समाजमा बाबु आमाको सम्मतिबाट ठुलो खर्च बर्च र ठाटबाट बाबु आमाको रोजाइ पछि गरिने कुनै पनि बिबाह प्रति मेरो चासो कहिल्यै रहेन ! जिन्दगीभर संगै बसेर जीवन बिताउने व्यक्ति त प्रत्येक मान्छेले आफैं छान्न पाउनुपर्ने हो भन्ने धारणा बिबाहको बारेमा बुझ्न सक्ने भए देखिने मेरो मनमा दरिलोसंग बसेको थियो ! मैले तिमीलाई इन्कार गर्न पटक पटक बिभिन्न बहानामा कोशिश गरें ! तर बाबु आमाको म एक्लो छोरोको जन्म र लालन पालनमा रहेको असीमित त्याग र चाखका कुराहरु आफन्तबाट सुन्दै आएको पृष्ठभूमीमा मैले वहाहरुको चित्तमा चोट पुर्याउने कुनै प्रतिक्रिया दिन सकिन ! शायद यहीं देखि म चुक्दै गएँ र अन्त्यमा यस्तोस्थितिमा आइपुगेंकी आज मेरो आफ्नो सम्पूर्ण व्यक्तित्वनै मेरो आफ्नै आँखामा स्खलित भएको म स्वयम्लाइ अनुभूति हुन् थालेको छ ! मैले आफ्नो अन्तरात्माको आवाज त्यतिखेरै सुनेको भए ,अथवा कमसेकम म मेरो मनले के भन्दैछ त्यसलाई अलिकतिमात्र चासो दिएर बिस्लेषण गर्न पट्टि मात्र लागेको भए आज न तिमीले यसरि प्रताडित हुनु पर्थ्यो न आज मैले यसरी पानी बिनाको माछोझें पश्चाताप र वियोगको आगोमा छटपटाइ रहनु पर्थ्यो !
तिमिसंग बिबाहका सम्पूर्ण धार्मिक सामाजिक प्रक्रियाहरु सम्पन्न भै रहंदा म कहिल्यै सन्तुष्ट रहिन ! मलाइ प्रत्येक पल केहि ठुलो गलत कुरा भैरहेको अनुभूतिले गांजी रहन्थ्यो ! केहि हुनु नपर्ने घटना घटित भैरहे जस्तो ,केहि उल्टो भए जस्तो !म क्षण क्षण नजानिँदो पीडाले ग्रस्त भै रहेको अनुभव गर्थें ,यदाकदा त सम्पूर्ण प्रक्रिया छोडेर सिनेमाहरुमा मन नपरेको बिबाह गर्नु पर्दा जग्गेमा बस्नु अघिनैं बेहुली जग्गे छोडेर भागेजस्तो भागुं जस्तो लाग्थ्यो !तर किन हो मैले ब्यबहारमा त्यसो गर्न चाहिने यथेष्ट उत्प्रेरणा र शक्ति पनि आफुभित्र !
मेरो ईच्छाबिरुद्धनै भएपनि कुनै त्यस्तो कसैको नभएको कार्य त भैरहेको थिएन ! कुनै न कुनै एक जना संग त मैले यसरीनै यो प्रक्रियाबाट गुज्रनुनै थियो ! आखिर म बच्चा पनि त होइन !यति बिधि दिशाहीन र असहायपन महसूस हुनुमा कहीं मेरो असाधारणरूपमा कोमल ,र कम्जोर अन्तर्मन त जिम्मेवार छैन ? मान्छेले कस्ता कस्ता अप्ठ्यारा अवस्थाहरुमा आफ्नो मनलाई कठोर बनाएर नसोचेको दुखबाट आफुलाई उद्धार गरेका असंख्य कथा हरु बा ले मलाइ सानै देखि सुनाएर छोराले कस्तो हुनुपर्छ भन्ने बताउंदै परिपक्व बनाउन कोशिश नगरेको पनि होइन ! तर म सानै देखि शायद पिंचे पनि थिएँ ! न अरुको दुख देख्न सक्ने ,न आफु सहन सक्ने ! आफुलाइ मन नपरेको कुरामा पनि सकोचको कारणले भित्र भित्रै कुडिएर बस्ने हक्की भएर प्रतिरोध गर्न नसक्ने मेरो सानैदेखिको बानी हो ! बिस्तारै ठिक हुदै जाला !म यसरी मन भित्र भित्रै तर्क गरेर पनि चित्त बुझाउने कोशिश गर्थे !तर जति चित्त बुझाए पनि एक किसिमको खालीपन मनमा घर गरेरै बसिरह्यो!
बिबाह पछिको पहिलो रात तिमीसंग मलाइ बोल्न पनि उत्साह थिएन !त्यसैले म त्यसदिन असाध्य पेट दुखेको बहाना गरेर केहि नखाई सुतें ! तिमि रात भरि ननिदाई सोफामा यता उता पल्टिदै छटपटाई,रह्यौं !तिमीले एकान्त भएपछी पलंग नीर आएर मलाइ पटक पटक हेदै जाँदै गरेको पनि मलाइ थाहा भैरह्यो ! तिमीसंग बोल्नु पर्ला भनेर म निन्द्रा नलागे पनि आँखा चिम्लेर सुतेको बहाना गर्न भित्ता पट्टि फर्केर नचट्पटाई लडीरहे!
भोलिपल्ट दिनभर तिमित सबै संकोच त्यागेर मेरो हेरचाह गर्न पुरानी दुलहीझैं कसियौ ! तर म भने अप्ठ्यारो मा परें !आमालाई आमा यहाँ बस्नुस्न भनेर हात तानेर आफ़ुनेरि बसाउन खोज्दा मेरो अप्रत्यासित बिमारीले बिचलित हुनुभएकी आमाले पनि अनुहारमा मन्द मुस्कान ल्याउदै अब हामीले स्याहार बाट छुट्टी पाउने बेला आयो !अब त नेरी बसेर तेरो स्याहार सुसार गर्ने मान्छे यता छ भनेर तिमि तिर देखाउदा तिमि लाजले राती भयौ तर म भने कहिल्यै नउम्किने पासोमा परेको मृग झैं भित्र भित्र व्यथित भैरहें ! दिन भरि एक ग्लास सुपमात्र खाएर पेटको ब्यथा भन्दै मनको ब्यथाले आहत भएर सुतिरहेको मलाइ साँझ पख कतिखेर भुसुक्क निदाएछु पत्तै भएन !
निन्द्रामा मैंले सपनामा बडो आनन्द अनुभूति गरें ! धेरै दिनपछि म पहिला जस्तो स्फूर्ति र उर्जासाथ ओछ्यानमा पल्टेको रहेछु ! कसैको हात अत्यन्त स्नेह साथ् मेरो पेट छाती र निधारमा स्पर्श गर्दै मलाइ आनन्दित पार्दै थियो ! म आनन्द अनुभवको एक पछि अर्को तह पार गर्दै प्रसन्न चित्तले आफ्ना हातहरु अगाडी बढाउदै मलाई सुम्सुम्याउने हात हरु पक्डेर तिनलाई मुसार्न थालें ! एकछिनको आकस्मिक बिश्राम पछि अघिका ति दुइ हात मेरो शरीरमा अझ गहिरोगरी स्पर्श गर्न लागे !प्रत्युत्तरमा आनन्दातिरेकमा मैले आफ्ना दुवै हातले त्यो हात पछाडिको शरीरलाई च्याप्प समाएर म तिर ताने ! त्यो शरीर थरर काम्यो अनि एकछिनको हिच्किचाहट पछि मेरो शरीरमाथि बिस्तारै झुक्दै गयो ! उसको न्यानो सासले मेरो अनुहारका स्नायु चेतनालाई तरंगित गर्दै उसको दुवै ओठले झन्डै मेरा ओठ छुने लागेका बेला अघि सम्म स्पष्ट नदेखिएको उसको अनुहार मेरो अगाडी आफ्नो सम्पूर्ण सुन्दरता सहित स्पष्ट भयो ! अनि मैले त्यो परिचित अनुहारका एक एक चिर परिचित अंगहरु स्पष्ट उजागर भए ! त्यसपछि एक्कासी मेरो आँखा खुल्यो !तिमि मेरो हात छुटाएर कुन्नि कता तिर जान ढोकाबाट दौडेर निस्कियौ ! अनि म चाहिं छत तिर एकटक लाएर हेर्दै त्यो अनौठो सपना र त्यो सपनाको विश्लेषण पट्टि!
म तिमीलाई प्रेम गर्दिन !तिमीप्रति मेरो कुनै आकर्षण छैन ! तिमि र म संगै जीवन बिताउन लाग्यौं भने मेरो र तिम्रो ,दुवै जनाको जीवन नर्क भन्दा कष्टदायी हुनेछ ! त्यो एक छिनको सपनाले मैले अहिले सम्म महसूस गर्दै आएको तर स्वीकार गर्न नमानीरहेको मेरो व्यक्तित्वको महत्वपूर्ण पक्षलाई अस्विकारगर्ने नमिल्नेगरी मेरो अगाडी उजागर गरीदियेकोछ ! अब म मेरा बा आमा ,तिमि र सम्पूर्ण समाज लाइ अरु धोकामा राख्न चाहन्न ! त्यसो गर्दा सबभन्दा बढी कष्ट मैलेनै भोग्नु पर्ने हुन्छ ! अनि तिमि लगायत सबैले पनि ! अब जति सुकै अप्रत्यासित र अनौठो भएपनि सृष्टीको यो अनौठो रोमान्सलाइ स्वीकार गर्नुमै सबैको कल्याण छ ! किनकि अब मलाइ स्पष्ट भएको छ कि म को हु ! कुनै पनि व्यक्ति त्यहिहो जो उसको अन्तर्मनका आँखाले देखेर चिन्दछन !त्यो होइन जो अरुका बाहिरि आँखाले हेरेर उसलाई हुन् बाध्य गराउछन !
मैले अघि सपनामा रोमाञ्चित हुदै अन्त्यमा देखेको अनुहार तिम्रो थियेन !त्यो अरु कसैको थियो जसलाई म यथार्थमा प्रेम गर्दछु !मलाइ जुन साच्चो प्रेमलाई स्वीकार गर्न समाजको डरले उ र म अहिले सम्म असमर्थ थियौं , त्यो प्रेम अनौठो भए पनि त्यसको अनुहार त्यहि हो जुन अघी मैले देखें र देखे पछि मेरा सबै बेचैनी र अन्तर्द्वन्दहरु हराए ! त्यस अर्थमा हामी अल्पसंख्यक अरु बहुसंख्यक भन्दा फरक हुने नैं भयौं ! तर इश्वरले हामीलाई यस्तै व्यक्तित्व दिएर जन्माएका छन् ,सृष्टीले यसरीनै हामीलाई रचेर पठाएको छ भने हामीले त्यसरीनै बाच्न पाउनु पर्छ ! तिमि र म असल साथि मात्र हुन् सक्छौ किनकि मैले अघि सपनामा देखेका ती सुन्दर हात ,अनुहार,स्वास र तिनको स्पर्शको मिठास भौतिक रूपमा तिम्रै भएपनि मेरो मस्तिष्कमा तिनको प्रभाव मेरो प्रेमीको हो जसको भौतिक बनावट नारीको होइन मेरै जस्तो छ !तर उ मेरो प्रेमी हो ! मेरो जीवनसाथी बन्ने हक पनि उसैको छ !