आदरणीय नेताज्यूहरु ,
देशले आज साना ठुला सबै राजनीतिकर्मी संग न्युनतम परिवर्तनको अपेक्षा गरेको छ ! अब उप्रान्त हाम्रो राजनीति गर्ने पुरानो शैलीमा,जनतालाई आफ्ना स्वार्थ्य अनुकूलका पाठ पढाउन खोज्ने हाम्रो पुरानो बानीमा , अनि देशलाई अनुकूल भए पनि आफुलाई प्रतिकुल हुने कुनै पनि अजेण्डामा सहमत नहुने हाम्रो आदतमा भित्री मनदेखि सुधार गर्न हामी तैयार छौं भन्ने कुरा कथनीबाट मात्र होइन करनीबाट प्रमाणित गर्छौं कि भन्ने आशा राखेको छ !
घुमाउरो तरिकाबाट हामी आफ्नो पुरानो ठाउमा यथावत छौं भन्ने प्रतित हुने कार्य गर्नुभन्दा जनताको कुरा सुन्ने धैर्य हामीमा बिकसित भएको छ भन्ने बिश्वास मात्र दिलाउन सके यो देशका जनता अझै पनि वर्तमान राजनीतिको मुलप्रबाह भन्दा बाहिर जान आतुर छैनन् भन्ने मेरो व्यक्तिगत बिश्वास हो !
हालसालै राष्ट्रिय सहमतिको सरकारको बिषय संचार माध्यममा बाक्लै आउन थालेको छ ! एक थान संबिधान दिने बिषयमा कायम हुन नसकेको यस्तो सहमतिलाई भूकम्पले यति सहजता साथ सम्भव बनाएको कुरामा मलाई किन बिश्वास हुन नसकेको हो ? अझ यसभित्र सत्ताको मोल मोलाईको तिखो गन्धमात्र अनुभूत गर्ने मेरो आफ्नै नाक देखि मलाइ आफैं रिस उठ्न थालेको छ ! भूकम्पको फाइदा यो देशले नवनिर्माणको रूपमा उठाउछ भन्ने कुरा लाइ सत्य प्रमाणित गर्ने आधार प्रस्तुत गर्न गाह्रो भैराको बेलामा बर्षौं देखि बिबादित रहेका बिभिन्न मुद्दामा सहमतिमा पुगेर संबिधान पनि तुरुन्त फोसामा थपेर पाइन्छ भन्ने कुरा सुनेर जनताले खुसि हुनेकी ठुलै राजनीतिक बादबिबाद शुरु हुन लागेको भनेर त्रसित हुने ?
कालाबजारिया हरुले भूकम्पलाई बेची खाने भाँडो बनाउन शुरु गरिसकेका छन् ! तर जनता नेता एकजुट हुदै गरेको खबरले उत्साहित हुन खोज्दैछन ! बहुचर्चित राष्ट्रिय सरकार राजनैतिक कालोबजारिया हरुको नारा रहेछ भन्ने जनतालाई महसूस भयो भने कता भाग्ने अहिल्यै बताई दिनुभए कृतज्ञ हुने थिएँ !