कहिले भनें नशा जीवनको तिम्रै आँखामा मात्र छ भनेर,
मधुशालामा मदिराको भाउ घटिसक्यो भनेर ?
कहिले भनें घाउ मुटुको सुकाउन सक्छन तिम्रा नयनका बाणले मात्र बेगमा,
कलेजीका जल्दा घाउहरूलाई सोध्नुपर्छ कति गहिरो नशा छ प्रति पेगमा !
शीतल तिम्रा झील जस्ता आँखाहरु मात्र छन् भन्ने तिमीलाई छ भ्रम भने,
भट्टी र बारमा मेरा क्षणहरु किन भुल्छन दुखि जीवनको आगो निभाउन !
केवल आफ्नो आँचलको छायाले मदहोश बनाएको तिमीलाई छ भ्रम भने,
माझ शहरमा बेहोश प्रहरमा किन लड्छु म मेरै मनको राँको भिजाउन !
तिम्रो काख केवल काफी हुँदो हो मेरो भिष्म शैया सरल बनाउन ,
किन पस्थें होला बीच रात्रीमा म भट्टीहरुमा मेरा ओठ तरल बनाउन !
कोठा भित्रको नरम तकिया काफी हुदो हो मनशान्तिको आभाष दिलाउन,
सहारा किन खोज्थें नगरबधुको म च्यातिएको मनको घाउ सिलाउन !