निस्छल कलकल बग्दै झर्ने
पहाडको झरना जस्तो
वायुसँग सुगन्धको
स्निग्ध अनुपम मिश्रण जस्तो
शरद रितुको धान खेतमा
चन्चल हरिणीको दौडाइ जस्तो
शिशिरको चिसो बिहानमा
मन्द आगोको राप जस्तो
ए मन आज तिमी किन यस्तो
नदी किनाराको बालुवा माथि
मनमीतको पाइलाको छाप जस्तो
एकान्तमा टोलाइरहदा
खोज्ने प्रेमीको पद्चाप जस्तो
ब्र्ह्मध्यानमा लीन भएको
सन्यासीको ध्यान जस्तो
एक्ताराको स्वरताल भित्र
लुकी बसेको तान जस्तो
ए मन आज तिमी किन यस्तो
फागुनको चिसो आगनमाथी
रङ्ग सँग रङ्गको मेल जस्तो
लहलहाउदो यौवन भिजाउने
पिच्कारीको भेलजस्तो
दसैं तिहारको बारी माथि
मन उडाउने पिंग जस्तो
कुमारी को मिठो सपनामा
बार बार आउने किङ जस्तो
ए मन आज तिमी किन यस्तो
सिरिसिरी चल्ने बताससँग
जेठ्को दिउसो भेट जस्तो
लहराउदै छुक्छुक गर्दै
घुम्ती पच्छाउने रेल जस्तो
गोकुलका बागहरुमा
गोपीसङ्गको रास जस्तो
भव्य सुन्दर सिन्हासनमा
परमेश्वरको बास जस्तो
ए मन आज तिमी किन यस्तो