प्रतिनिधि कथा…

उसको बोली धोंद्रो भएछ ।अोठमाथि हलुका जुँगाको रेखि अनि जुल्फी लर्काएर कोरेको कपाल । मलाई देख्नासाथ अलिकति लजाएझैं गरेर सोध्यो- दिपिका होइन ?
मलाइ उसको जुल्फीमा पक्डेर बेस्सरी तान्दै भन्न मन लाग्याथ्यो-होइन म दिपिका ।म दिपी हुँ जसले हिर्काएको ढुङ्गाले लागेर बसेको चोटको खत अझै तिम्रो निधारमा प्रष्ट देखिन्छ ।
मनमा त्यस्तो इच्छा जागेता पनि मुखबाट आवाज फुटेन । मुटु हलुका कामेजस्तो लाग्यो । अोठ थर्थराए पनि आवाज निस्केन ।जीब्रो सुकेर तालुमा अड्किए जस्तो भयो । उसको आँखा तिर हेरेर जवाफ दिन खोजें। दुवै आँखाका परेला गर्हुंगा भएर उठ्नै मानेनन् ।
थाहै नपाई सानो स्वर निस्किएछ ..हो ।त्यहाँबाट निस्की सकेपछि चालपाएँ ।
बाहिर निस्किएर भाउजू र म घरतिर बढ्दै गर्दा बाटोमा सोच्दै थिएँ – के भएको आज मलाई ? पहिले त कहिल्यै यस्तो भएको अनुभव छैन । छ क्लास सम्म संगसंगै गाउँको एउटै स्कूलमा पढेको त्यही झगडिया जसलाई भेट्नासाथ म उस्को झाँक्रो झार्न पछि पर्दिनथें,त्यही उज्ज्वल हो यो । सधैं कितावमैं गाडिएका हुन्थे उसका आँखा । कसैले हाँसखेल गरेको पटक्कै मन नपराउने,खेलकूदमा कत्ति पनि रुचि नराख्ने । उसको र मेरो स्वभावमा आकाश जमीनको फरक थियो । त्यसैले उस्को र मेरो कहिल्यै पटेन । फस्ट ब्वाई भएको कारण जहिले पनि घमंडले चुर भएजस्तो लाग्थ्यो मलाई । क्लासमा सबैसंग मिलीजुली हँसीठट्टा गर्ने,खेलकूदमा भागलिने मेरो बानी थियो ।
हाम्रो र उसको घर एउटै गल्लीमा पाँच,सात घरको फरकमा थियो ।
छ क्लाससम्म गाउँकै स्कूलमा पढेपछि उ शहरको स्कूलमा पढ्न उतै कामगर्ने आफ्नो दाईसंगै बस्नेगरी गयो । त्यसपछि आजै हो उसलाई भेटेको । अहिले एस.एल.सी.को जाँचपछि रिजल्ट कुर्न गाउँ आएको ।
कति छिटो घर आई सकेछ । उज्ज्वलको घरदेखि आफ्नो घरसम्मको दूरी घटेजस्तो लाग्यो मलाई ।

राती खाना खाइवरी सुतेपछि मलाई निन्द्रा परेन ।
बारम्बार मलाइ उज्ज्वलकै ध्यान आईरह्यो ।कति अग्लो खाइलाग्दो पट्ठो जस्तो देखिएको ? शहर गएर खेलकूद,एक्सरसाइज तिर पनि ध्यान दिन थाल्यो कि क्या हो ? पहिले भन्दा हिसी पर्दो पनि देकिएको । पहिले त अनुहार हेर्दै रीस उठ्दो थियो । बोलीमा पनि त पुरानो झर्को लाग्दो झगडालुपनको ठांउ नरम र मिजासिलोपन अाएछ ।
पढाईमा त पहिले देखिनै तेज हो । भरसक डिस्टिङ्सन नभए पनि फस्ट डिभिजन त पक्कै होला ।
कति दिन बस्छ होला गाउँमा । रिजल्ट भएपछि फेरि शहरै जाने त होला नी ।
अब त यहिं ब्याचलरसम्म पढाइ हुने क्याम्पस खुलेको छ । किन जानुपर्यो शहर…?
हँ ?
एक्कासी झसंग भएँ म । अर्काको बारेमा मलाई किन यति धेरै चासो …?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s