किशोर किशोरी,युवा युवती तथा अन्य उमेरका स्त्री,पुरूष वा समलिङ्गी जोडीहरु पनि विवाहित जोडी जस्तै एकअर्का संगै बसेर जीवनयापन गर्ने पश्चिमा समाजको रीति नेपाली समाजमा पनि बिस्तारै भित्रिन थालेको अवस्था छ ।
बिश्वब्यापी अार्थिक उदारीकरण,यातायातको बढ्दो सहजता र संचार माध्यममा खासगरी इन्टरनेटको बढ्दो प्रयोगको कारणले बिश्वको एउटा कुनाको जीवनशैली अर्को कुनामा बसोबास गर्ने ब्यक्तिले समान परिस्थितिमा अपनाउने बिषयलाई अब नक्कल भन्नु भन्दा सिको भन्नु उपयुुक्त होला । यस्तो सिको सम्बन्धित समाजको तात्कालिन सालाखाला शैक्षिक स्तर र अर्थसामाजिक एबं सांस्कृतिक समानता अनुकूल भए नभएको तथ्यले उपयुक्त ठहरिने वा नठहरिने निश्चित हुन्छ ।
समाजको समग्र समानता वा असमानताले त्यो समाजको त्यस्तो व्यवहारको ग्रहणशीलता निर्धारण गर्दछ भने व्यक्ति स्वयमको शिक्षा,अर्थसामाजिक स्तर र सोचको अनुकूलताले उसको त्यो विशेष जीवनशैलीको अनुकरणको परिणाम निर्धारण गर्दछ ।
लिभिङ्ग टुगेदरको जीवनशैली अपनाउने जोडीले कानूनी र बंसबृद्धिको पक्ष बाहेक दाम्पत्य जीवनका अन्य सबै अलिखित
करारलाई नैतिक रुपले स्विकार गरेको हुनुपर्दछ । अाधुनिक बिवाहमा जस्तै यस्तो सम्बन्धको निरन्तरता दुवैको सामूहिक अनुकूलतामा निर्भर गर्दछ ।
सम्बन्धले कालान्तरमा कानूनी मान्यता प्राप्त
गरी वंशबृद्धि लगायत बैवाहिक जीवनयापनको बाटो रोज्छ अथवा यौटा अवधि पछि अापसि सहमतिमा वा मतभिन्नताको कारणले सम्बन्ध बिच्छेदको बाटो रोज्छ भन्नेकुरा यस्तो जीवनशैली अपनाउन शुरू गर्दाको प्रयोजन,समझदारी र “लिभिङ्ग टुगेदर”को जीवनयापनको समयाबघिमा दुबैको एकार्काप्रतिको अनुभव र निष्ठामा भरपर्दछ । हाम्रो समाजमा हालसम्मको अवस्थामा प्रयोगको रूपमा अपनाईएका बहुसंख्यक यस्ता सम्बन्धहरू बिग्रहमा परिणत भएको पाईएको छ । ब्यक्तिगत परिपक्वता भएका र तात्कालिन परिस्थिति प्रतिकूल भएको कारणले मात्र यो जीवनशैली अपनाउन बाध्य भएका जोडीहरूमा भने यस्तो सम्बन्ध कानूनी र सामाजिक दुवै रूपमा निरन्तरता पाउन सफल भएको पाईएको छ ।