प्रतिनिधि कथा…लिभिङ्ग टुगेदर…१

“ब्यांकको मर्जर हुने कुरा चल्दैछ । मर्जर पछि स्टाफ कटौतीको शर्त राखेको छ ठूलो ब्यांकले ।त्यस संगसंगै इन्टर्नहरु पनि हटाइन्छन होला ।”रितेशले खासगरी नेहालाइनै सुनाउन यो सूचना प्रवाहित गरेको थियो ।त्यसकारण उसैतिर हेरेर कुनै एफ.एम.रेडियोले समाचार वाचन गरे जस्तै गरी फरर कुरा राख्यो अनि कफीको चुस्की लियो ।

नेहाको अनुहारमा उसले अपेक्षा गरे जस्तै प्रतिक्रया पाएर मनमनै खुशी हुँदै लामो सास छोडेर कफीको कप टेबुलमा राख्यो ।

रितेश ब्यांकको ब्रान्च म्यानेजरको पदमा कार्यरत अविवाहित युवक हो । ब्यांकमा राम्रो क्यारीयर बनाएर पछि बाबाको सबै भन्दा बढी शेयर भएकाे ब्यांक आफैं चलाउने उद्देश्य लिएर उ अष्ट्रेलियाबाट एम.बि.ए.गरेपछि त्यहिंकाे पी. आर.नलिएर नेपाल फर्केकाे ।

बि.बि.ए.मा राम्रो नम्बर ल्याएर पास गरेका र ब्यांकमा काम गर्ने लक्ष लिएका ९ जना नवयुवक र युवतीहरूलाइ ब्यांकले आफ्नो मुख्य शाखा कार्यालयमा इन्टर्नको रुपमा गुजारा मात्र चल्ने भत्ता दिएर काममा लगाएको थियो ।

तिनै ९ जनामध्ये २० वर्षे अग्ली,छरितो शरीर र तीखाे दिमागकी धनी नेहा पनि एक थिई । निम्न मध्यम वर्गीय परिवारकी नेहाको लागि इन्टर्नकाे काम पछि ब्यांकमा काम गर्ने र बिना दाईजाे बिबाह गर्नको लागि मात्र होइन,पास भएर डिग्री लिई सकेकि छोरीलाई गाउँबाट शहरमा पैसा पठाएर काम सिकाउन असमर्थ बुवाको राहतको लागि पनि जरूरी थियो ।

त्यसैले अघि रितेशले इन्टर्नहरुलाई हटाउने कुरा गर्दा नेहाको अनुहारमा निराशा छाएको थियो । गालाको सदाबहार लालीको ठाउँ फुस्रोपनले लियो ।हरीणिका जस्ता दुवै आँखामा आँसु छचल्किन खोजेको थियाे ।अनि सधैं मुस्काउन खोजेजस्तै देखिने रसिला सुन्तलाकेस्रे ओठ एक्कासी सुक्खा भएका थिए ।

अस्ट्रेलियाबाट एम.बि.ए. गरेर आएकाे धनी बाबुको छोरो रितेशकाे लागि मनपरेकी कुनै पनि सोझी केटीलाई आफूतिर आकर्षित गर्नु सामान्य कुरा थियो । तर पहिलो पटक नजर पर्दै मनपरेकी नेहा कुन धातुले बनेकी थिई कुन्नी रितेशले साम,दाम दण्ड,भेद कुनै नीति अपनाउँदा पनि उसलाइ आफूतिर तान्न सकेन । त्यसैले आज सबै इन्टर्नलाइ आफ्नो कक्षमा लन्चको लागि निम्ता गरेर याे ब्रम्हास्त्र छोडेको थियो ।

उसको अनुहारमा आफ्नो कुराको तत्काल प्रतिक्रिया देखेर उसलाई लाग्यो – माछाले बल्छीतिर मुख लम्कायो ।

अफिसको काम सकेर बाहिर निस्किनु अघि कुर्सीमैं बसेर आँखा चिम्ली उसले धेरैबेर दिउँसो लन्च आवरको घटना सम्झ्यो । त्यत्तिकैमा भित्ताको घडीले छ पटक घण्टा बजाएर छ बजेको सूचना दियो । उसको आँखा खुल्यो । हतार हतार उठेर ह्यांगरबाट कोट झिकेर लगाई ढोकातिर बढ्न मात्र के लागेकाे थियो, हठात् उसको आँखा अगाडि ठिंग उभिएकी नेहा माथि पर्याे ।

सर् ! नेहा आफ्नो दाहिने खुट्टाको बूढी औंलाले भूईं कोतर्दै दुबै आँखाले भूईंतिर हेर्दै भन्दै थिई-हजुरको बाबालाई भनेर मेरो इन्टर्नसीपको समय मर्जर पछि पनि थप्न मिल्छ कि ? हजुरको म माथि ठूलो गुन लाग्ने थियो ।

हुँ…लामो सास तानेर रितेशले नेहातिर आफ्नो दाहिने हात अघि बढाउँदै भन्यो- कसैले कसैलाई त्यसै गुन लगाउने र गुन मान्ने कुरामा म बिश्वास गर्दिन । मित्रता गराैं । मित्रतामा बराबरीको लेनदेन भैरहन्छ ।म काठमाण्डू गएको बेला बाबासंग कुरा गरौंला । बाई द वे । म अहिले डिनरकोलागि होटेल लेकसाईड जांदैछु । जाने हो ?

नेहाले बिस्तारै आफ्नो दाहिने हात उठाएर उसको हाततिर बढाई ।

ब्यांक मर्जरको सम्पूर्ण प्रक्रिया सकिएपछि ब्यांक बिकास बैंकको स्तरबाट “क” श्रेणीको बैंकमा परिणत भयो । रितेशको पनि प्रमोसन भएर संयुक्त बैंकको पोखरा ब्रान्चको म्यानेजरमा पदस्थापन भयो । यतिका अपेक्षित परिणामसंगै एउटा अनपेक्षित परिणाम पनि साथै आयो । रितेश र उस्को सिफारीसमा रितेशका बाबाको भरमग्दूर प्रयासका बावजूद ब्यांकका सबै इन्टर्नहरु सेवामुक्त भए ।नेहा लगायत । ब्यांकको संयुक्त संचालक समितिले हाल ब्यांकमा इन्टर्ननै नराख्ने निर्णय गर्यो । यो विषयमा रितेशका बाबाहरू अल्पमतमा परे ।

लेकसाईड होटलको कफी सपमा रितेश नेहालाई सम्झाउने प्रयास गर्दै थियो -विश्वास गर नेहा ।मेरो बाबाले कमसेकम तिनजना मात्र भए पनि इन्टर्न राख्न अन्तिमसम्म बोर्डमा अडान लिनु भएको हो।तर अरुले बरू वान्टेड निकालेर स्टाफ थप्ने तर इन्टर्न एकजना पनि नराख्ने भनेर अडान लिएछन । आई एम रियल्ली सरी ।

नेहा आखाभरी आँसु लिएर टेबुलतिर हेर्दै बसी रही ।ऊसंग शब्द थिएनन । थियो त केवल मनमा असह्य पीडा ।

थ्यांक यू फर एभरी थिङ्ग । केवल यत्ति भनेर उ जुरूक्क उठी र बाहिर जाने गेटतिर हानिई ।

मोबाइलको घण्टी लगातार दुईपटक बज्यो । पहिलो पटक त मस्त निन्द्राको कारण उसले आधा घण्टी सपनामा र आधा बिपनामा सुन्यो । निन्द्राले घन्टी सुनेपनि आँखा खुलेनन । दोस्रो पटकको घण्टिको अन्ततिर उसको हात फोनसम्म पुग्यो । बिस्तारै फोन उठाएर मुखनेरी ल्याउँदै निद्राले भरिएको स्वरमा बोल्यो-रितेश स्पीकिंग । सर! हाम्रो ब्यांकमा पहिले इन्टर्नको काम गर्ने नेहा नामकी केटीले थुप्रै स्लिपिंग पिल्स खाएर आत्महत्या गर्ने कोसिस गरिछ । तर बेलैमा उस्को घरबेटीले अस्पताल ल्याएकोले उ बाँची । अहिले होसमा आएपछि काम गर्ने ठाउँको नाम सोद्धा हाम्रो ब्यांकको नाम लिएपछि प्रहरीले मलाई सम्पर्क गर्याे । प्रहरी हाम्रो पनि बयान लिन खोज्दैछ ।के गर्ने सर ? उताबाट ब्यांकको पब्लिक रिलेसन अफिसर बोल्दै थियो ।

ह्वाट्…? रितेश छाँगाबाट खसेजस्तै भयो । घडी हेर्यो ! छ बजेछ ।

पर्ख । म आफैं त्यहाँ आउँछु । कुन अस्पताल रे ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s