प्रतिनिधि कथा…लिविंग टुगेदर..२

कोठाबाट सबैलाई बाहिर पठाएपछि रितेशले नेहाको दाहिने हातमा लिएर देब्रे हातले उसको घना,कालो केसराशी सुमसुमाउँदै सुस्तरी भन्न थाल्यो – अात्महत्या तिम्रो समस्याको समाधान हो भन्ने भ्रम तिमीलाई कसरी भयो ।मित्रता भैसकेपछि त आफुले समाधान खोज्न नसकेपछि मित्रहरुसंग छलफल गरेर,मिलेर पो त समस्याको समाधान खोजिन्छ ।

दुवै आँखाबाट निरन्तर आँसुका धारा बगाइरहेकी नेहा केहीबेर सुँक्क सुँक्क गर्दै धेरैबेरसम्म केही नबोली रोइरही । त्यसपछि सायद उसको मनको घाउलाई आँसुले राम्रोसंग धोइसकेपछि बिस्तारै बोल्न थाली- मेरो गुनासो सरसंग होइन । ननै मेरा अरु मित्रसंग । सरले मेरो लागि प्रयास गर्नु भएको मलाई थाहा छ ।दोष सरको होइन । मेराे भाग्यको हो । मेरो विवशताको हो । अनि गरीबको घरमा जन्म लिने मेरो प्रारब्धको हो । मैंले इन्टर्नसीप जोगाउन सरसंग एउटा कम्प्रोमाइज गरें । त्यस्तो कम्प्रोमाइज गर्नु मेरो त्यसबेलाको अपरिपक्वताको कारण थियो भन्नेकुरा मलाई अहिले महसूस हँदैछ । त्यो कम्प्रोमाईजको फलस्वरुप मैंले आफ्नो सबैभन्दा मूल्यवान सम्पत्ति मेरो सतित्व गुमाएँ । त्यत्रो ठूलो निर्णय लिनुअघि मैंले जन्म दिने, हुर्काउने र लेखपढ गराउने आमाबाबुसंग सल्लाह गरिन । अब मैंले नैतिक रूपमा बाबुआमा कहाँ जाने र त्यहां गएर सहारा माग्ने वा सल्लाह लिने अधिकार पनि गुमाएको मेरो निष्कर्ष छ ।

मसंग अब न घरबेटीलाई घरभाडा दिने पैसा छ । न खानपिनको सामान किन्ने । आफ्ना एकमात्र निकटतम आत्मीय आमाबाबुको घरजाने बाटो बन्द भैसकेपछि म संग मृत्युको के विकल्प छ र सर ?

उसको कुरा गम्भीरतापूर्वक सुनी सकेपछि रितेशले भन्यो -तिम्रो कुरा राम्ररि सुनेपछि मलाई के अनुभूति हुँदैछ भने जतिनै तिमीले दोषमुक्त भनेर पन्छाए पनि हाम्रो सामाजिक संरचना अनुसार तिमी र तिम्रो गरिबी बाहेक तिम्रो आजको अवस्थाको लागि अर्को पनि एउटा जिम्मेवार पात्र छ ।

त्यो को सर …?

म त्यसैले यसको समाधानको खोजीमा सम्मिलित हुनु मेरो पनि कर्तव्य र जिम्मेवारी हो ।

के समाधान हुनसक्छ यो समस्याको मृत्युबाहेक । इमान्दार भएर भन्नुस र मलाई मर्न दिनुस् ।

मृत्यु यो समस्याको समाधान होइन । अवश्यंभावी अवस्थामा फेरि मृत्युको विकल्प हुँदैन ।

त्यसो भए अरु के त ? तपाईं संग विवाह ? त्यसो हुन सक्दैन । कारण तपाईं र मेरो बिचमा प्रेम भएर तपाईंले मलाइ धोका दिएको होइन । तपाईंले अाफूलाई मेरो अवस्थाको लागि जिम्मेबार ठानेर वा दया गरेर बिबाह गर्ने हो भने त्यो मलाई मन्जुर छैन।त्यसो भएमा म परिस्थितिको फाईदा उठाउने स्वार्थी हुनेछु ।

त्यस्तो केही पनि होइन । तिमी सबै आफ्ना मनगढन्त कुरा गर्दैछ्यौ । आज मेरो यौटा कुनै पुरूषसाथी तिम्रो ठाउँमा भएको भए म के गर्थें ? आफ्नो घर लैजान्थें । काम खोज्न सहयोग गर्थें । काम नपाउन्जेल उसको खाने र बस्ने खर्च मैं तिर्थें । अनि उसले काम पाए पछि उधारो हिसाब गनेर फिर्ता लिन्थें ।

होला…ठिकै हो।

मेरो प्रस्ताव फेरि पनि मित्रताको हो । रितेशले आफ्नो दाहिने हातको हत्केलो नेहातिर बढायो ।

केहीबेर सोचेर नेहाले बिस्तारै आफ्नो दायाँ हात रितेशको दायाँ हाततिर बढाई …।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s