कस्तो नसा चढ्यो यो कस्तो तरङ्ग छायो
आफूलाई नै नबुझ्ने कस्तो वसन्त आयो
इन्द्रेणीका सातै रङ्ग छरपष्ट भै छरिए
प्रकृतिका अङ्गहरू मदमस्त भै फैलिए
खाली मनको भित्ता भरी पोतियो रङ्ग अनाैठो
काउकुति लाग्न थाल्यो जीवन अझै भो मीठो
पदचाप टाढा कसैको हुन थाल्यो झन नजिक
सपनामा आउन थाल्यो निरन्तर एक पथिक
टाढा कतै त्यो वनमा कुहू बोल्न थाल्यो कोइली
कोपिलामा रङ्ग चढ्यो साँझ भो अब जुनेली
थाहै नदिइ मुटुको एक्कासी बढ्यो धड्कन
पहिलो वर्षातको धुनमा मयूर नाच्यो छमछम