टप टप टिपेर थोपा भूईँमा झरेको आँसु
सँगालेर राख्न खोज्छु गह पग्लिएको आँसु
पोल्टाभरि नअट्दा फेरि पोखिने पो हो कि
स्मृतिका क्षणहरूमा लुकाई राखेको आँसु
निश्वास भरी पीडाको तातो बाहिरिन्छ कहिले
कस्तो राप हो असह्य भित्र आगो लाग्छ जहिले
डढेलो लागेको मनका पातलाई कसरी गासुँ
पोखिदिन्छु पोल्टो आफ्नै झर झर बहन्छ अाँसु
निस्तब्ध रातहरूमा छट्पटिन्छ मन कहिले
देखिँदैन बाटो कुनै अतालिन्छ मन जहिले
कालो रातको कुहिरो पन्छाई कसरी म हाँसु
गह खोली दिन्छु तत्क्षण झर झर बहन्छ आँसु