About doctorsubodh

sexologist,sexo-psychologist & reproductive health specialist.

खोजेँ ईश्वरलाइ

कहिले फूल भित्र कहिले रङ्ग भित्र

कहिले शरद भित्र कहिले वसन्त भित्र

कहिले रूप भित्र कहिले सुगन्ध भित्र

नित्य बास रहेछ ईश्वर तिम्रो सधैँ म भित्र

मुक्तक

च्यातिएको मन सिएर जीवन साँची रहेछु

आफ्नै आँसुलाइ पिएर बाहिर हाँसी रहेछु

प्रतीक्षामा छु हर क्षण तिम्रो ढोका अगाडि

तिम्रो एक झलकको लागि अझै बाँची रहेछु

आँसु

टप टप टिपेर थोपा भूईँमा झरेको आँसु
सँगालेर राख्न खोज्छु गह पग्लिएको आँसु
पोल्टाभरि नअट्दा फेरि पोखिने पो हो कि
स्मृतिका क्षणहरूमा लुकाई राखेको आँसु

निश्वास भरी पीडाको तातो बाहिरिन्छ कहिले
कस्तो राप हो असह्य भित्र आगो लाग्छ जहिले
डढेलो लागेको मनका पातलाई कसरी गासुँ
पोखिदिन्छु पोल्टो आफ्नै झर झर बहन्छ अाँसु

निस्तब्ध रातहरूमा छट्पटिन्छ मन कहिले
देखिँदैन बाटो कुनै अतालिन्छ मन जहिले
कालो रातको कुहिरो पन्छाई कसरी म हाँसु
गह खोली दिन्छु तत्क्षण झर झर बहन्छ आँसु

कस्तो नसा चढ्यो

कस्तो नसा चढ्यो यो कस्तो तरङ्ग छायो
आफूलाई नै नबुझ्ने कस्तो वसन्त आयो
इन्द्रेणीका सातै रङ्ग छरपष्ट भै छरिए
प्रकृतिका अङ्गहरू मदमस्त भै फैलिए

खाली मनको भित्ता भरी पोतियो रङ्ग अनाैठो
काउकुति लाग्न थाल्यो जीवन अझै भो मीठो
पदचाप टाढा कसैको हुन थाल्यो झन नजिक
सपनामा आउन थाल्यो निरन्तर एक पथिक

टाढा कतै त्यो वनमा कुहू बोल्न थाल्यो कोइली
कोपिलामा रङ्ग चढ्यो साँझ भो अब जुनेली
थाहै नदिइ मुटुको एक्कासी बढ्यो धड्कन
पहिलो वर्षातको धुनमा मयूर नाच्यो छमछम

अनन्त

कल्पना अनन्त चाहना अनन्त
सपना अनन्त तिर्सना अनन्त

अनन्त कल्पनाको परिणाम अनन्त
अनन्त चाहनाको प्राप्ति अनन्त
अनन्त सपनाको खुशी अनन्त
अनन्त तिर्सनाको खोला अनन्त

कहिले कल्पनाको चोट अनन्त
कहिले चाहनाको क्षति अनन्त
कहिले सपनाको दुःख अनन्त
कहिले तिर्सनाको प्यास अनन्त

प्रीतिको छाल

प्रीतिको छाल ओढेर किनारामा आउन
पर्खि बस्छु ज्वारको छाळले म नुहाउन

खै त मेरो मुटुको धडकन फिर्ता दिएको
पहिलो भेटमैं तिमिले चोरेर मेरो लिएको
मन भित्र छँदैछ पहिलो मुस्कान बैंसको
मलाई तिमिले फालेर मन्त्रमुग्ध पारेको

याैवनको पहिलो खुडकिलो एकैसाथ उक्लेको
नरम हातका औंलाळे थाक्दा मलाई तानेको
हिजै जस्तो लाग्दै छ छुँदा बदन कामेको
थाहै नपाई बितेछ यत्रो यात्रा सागरको

प्रीतिको छाल ओढेर..

बग्न मन पराउँछु

आजभोली एकान्तमा बस्न मनपराउँछु
आफैंबाट आफू कतै लुक्न मनपराउँछु
जीवनको कथा ओठले सुसेलेर बोल्ने
सपनाको जस्तै तिम्रो रूप मनपराउँछु ।।

माला बनाई दुबै हातले लहराझैं बेर्दै
झरनाको पानी पिउँदा कम्मर मर्काउँदै
भिज्यो चोली चुहिएको पानी तर्किएर
त्यो चोलीमा नजर मार्ने आँखा मनपराउँछु ।

आँखाजुध्ने डरले होला नहेरेझैं गर्ने
नजर बचाई दुनियाको किन आँखा तर्ने
कामे ओठ थर्क्यो बदन लोभी हेराईले
त्यै हेराईमा पग्लिएर बग्न मन पराउँछु ।

मिलनको रीत

दिन हो तिम्रो उपस्थिति
अनुपस्थिति रात हो
किन अायो बिछोडको स्थिति
किन टुट्यो मिलनको रीति ।

सपनामा मिलनको प्यास कति

तबिपनामा बिछोडको उछ्वास कति
असह्य भो प्रीत बिनाको जीवन

मिलनको रीत बिनाको जीवन ।

आँसुको अबिरल धारा बोकेर
मनको घाउ बिरहले सेकेर
बाँच्न गार्हो भो निसास्सिएर
सँगीत बिनाको गीत लिएर

मुक्तक

केको लागि जीउनु पर्यो कसको लागि हाँस्नु ?
हिसाब किताब गरि गरि किन पर्यो बाँच्नु ?
आफ्नै दिल जलाएर संसार खुशी पार्नु,
भन्न भने सजिलो छ कठिन जीवन धान्नु।

माया चाहन्छन माया गर्छन

यो देशका जनता सहनशील छन भन्दैमा
प्रजातन्त्र मन पराउने उदार छन भन्दैमा
नसोच तिनको स्वाभिमान कमजोर छ भनेर
नेपाल कसैको लहडको प्रयोगशाला भनेर ।

खुकुरि बोक्ने यी हुन किनलक भगाउने यी हुन
खाना पानी नै नपिई दुश्मन थर्काउने यी हुन
नसोच कसैको चतुर्याईले झुक्याउन सक्छ भनेर
बुझ अरूको झेलको मिति अब छोटो छ भनेर ।

आफ्नै संस्कृति प्यारो आफ्नै ईतिहास छ तिनको
स्वतन्त्रभै बसेको आफ्नै गौरव छ तिनको
काफी छैन कसैको रमझम लोभ्याउन तिनलाई
माया चाहन्छन सबको माया गर्छन ती सबैलाई ।